२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राजनीतिक दलको आडमा लोभ लालच देखाई आर्थिक ठगी गर्ने अपराधमा वृद्धि


650
Shares

काठमाडौं । पछिल्लो समय विभिन्न बहानामा सोझा मानिसलाई अनेक लोभ लालच देखाइ ठग्ने अपराधमा वृद्धि भएको छ ।यसरी अपराध गर्नेमा अधिकांश राजनीतिक दलको आडमा रहेका व्यक्तिहरु छन् ।

मेनपावरमार्फत हुनुपर्ने काम बीचैमा बिचौलियाहरुको भर पर्दा पहुँच देखाएर ठग उम्किने प्रवृत्ति बढेको छ । शान्ति सुरक्षा हेर्ने प्रमुख दायित्व बोकेको प्रहरीका लागि वित्तीय अपराधका बढ्दो उजुरी निल्नु न ओकल्नु भएको छ ।गाउँदेखि शहरसम्म सोझा साझा मानिस बैदेशिक रोजगारीको नाममा ठगिने गरेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्यांकले बताउँछ ।

चालू आर्थिक बर्ष २०७९/८० श्रावण देखि यो जेठ महिनाको अन्तिमसम्म १सय ६५ उजुरी परेका छन् । त्यसमध्ये ७ वटा मुद्दा दर्ता भएको छ । ठगीमा १२ करोड ९२ लाख रुपैया बिगो रहेको छ भने चालू आर्थिक बर्षमा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगीमा संलग्न ५२ जना पक्राउ गरी ३ करोड ३४ लाख ४४ हजार असुल गरेको छ । ठगहरुले बैदेशिक रोजगारीको नाममा राम्रो देश, राम्रो काम र धेरै पैसा कमाउने जस्तो विभिन्न लोभ लालच देखाइ ठगी गर्ने गरेको पीडितहरु बताउँछन ।

यसरी ठगिनेहरुमा अधिकांश बैदेशिक रोजगारीको विषयमा अल्पज्ञान रहेका मानिस पर्ने गरेको प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख डा. मनोज केसीको भनाइ छ ।

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार बिभागमा परेको उजुरीका आधारमा ठगी गर्ने व्यक्ति पक्राउ गरी पठाउने गरेको पत्रको आधारमा चालू आर्थिक बर्षमा २ सय १२ जनाको नाउँमा पक्राउ पुर्जी जारी गरेको छ । ५६ पुरुष र १६ महिला गरी ७२ जना पक्राउ गरि बैदेशिक रोजगार विभागमा पठाइसकेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्यांकमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जान चाहनेलाई सचेतना जगाउने अभियान चलाउन आवश्यक भएको उपत्यका अपराध अनुसन्धान प्रमुख केसीको भनाइ छ । त्यसैगरी उपत्यका बाहिर विभिन्न जिल्लासँग समन्वय गरी ६ पुरुष र १ जना महिला पक्राउ गरेको कार्यालयले जनाएको छ । यसरी ठगीको बिगबिगी चलिरहेको बेला कसैले भनेको भरमा झट्टै विश्वास गर्दा धोका हुने निश्चित भएकाले बैदेशिक रोजगारमा जान चाहनेहरुले सरोकारवाला निकायमा पुगेर आधिकारिक जानकारी लिनु आवश्यक छ ।