२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


समाजवादी मोर्चाको सर्वत्र आलोचना


1.118k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चाको घोषणा गरेका छन् । मोर्चाको घोषणासँगै नेपाली राजनीतिमा कमजोर दलहरु शक्तिमा आउनका लागि मोर्चा गठन गरेको टिप्पणी हुन थालेको छ ।

राष्ट्रिय राजनीतिमा कमजोर हुँदै गएको दल नेकपा माओवादी केन्द्र, नेकपा एमालेमा बिद्रोह गरेर अलग भएको नेकपा एकीकृत समाजवादी पार्टी, आफूलाई कम्युनिष्ट नमान्ने जनता समाजवादी पार्टी र संसदीय व्यवस्था नमान्ने नेकपा कम्युनिष्ट पार्टीका फरक फरक सिद्धान्त, विचार र दृष्टिकोण छन् । फरक फरक विचार रहेका दलहरुको मोर्चा समाजवादी मोर्चा कतिसम्म टिक्न सक्छ भन्ने प्रश्न उठेको छ ।

संसदमा तेस्रा शक्तिको रुपमा रहेको माओवादीसँग ३२ सिट रहेको छ । सरकारमा रहेका १२ सिट संख्या रहेको जनता समाजवादी पार्टी र १० सिट रहेको एकीकृत समाजवादी पार्टीसँग मिलेर शक्तिकेन्द्रमा आउनका लागि समाजवादी मोर्चा बनाएको राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल बताउनुहुन्छ ।

मोर्चा बनेसँगै प्रधानमन्त्री पुष्पकमल दहालसँग ५४ सिटको शक्ति रहेको छ । त्यस्तै, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि प्रधानमन्त्री बन्ने सहजताका लागि यो मोर्चामा हुनुहुन्छ । सिद्धान्त, विचारधारा र दृष्टिकोण फरक भएपनि साझा मुद्दामा एक हुने भएकाले समाजवादी मोर्चा गठन गरीएको दलहरुको तर्क छ । सत्ता टिकाउने स्वार्थकै लागि मोर्चा गठन भएको भ्रममा नपर्न नेतहरुले आग्रह गरेका छन् ।

२०७७ फागुनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा भंग भएपछि नै मोर्चा निमार्णको प्रयास भएको थियो । यसको प्रयास माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गर्नुभएको थियो । त्यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले विगत २ वर्षदेखि समाजवादी मोर्चा बनाउने अभियान थालेपनि अन्तिम समयमा उहाँ मोर्चामा अट्नुभएन ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको असहमतिका कारण भट्टराई मोर्चामा सहभागी नभएको टिकाटिप्प्णी भएको छ । उहाँले समाजवादी मोर्चा संसदीय अंकगाणित मिलाउनका लागि बनाइएको आरोप लगाउनुभएको छ ।

विगतमा कयौँ पटक चुनाव र सत्ताका लागि गठन गरीएका गठबन्धन तथा एकताहरु नेतृत्वकै कारणले भत्किने र जोडिने गरेका प्रशस्त उदाहारण छन् । नेताहरुले भने जस्तै स्वार्थ नभएर साझा मुद्दाको मोर्चा भए दलहरु तथा नेपाली राजनीतिका लागि पनि उपयुक्त हुन्थ्यो ।