६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


इलाममा ड्रागन फलको व्यावसायिक खेती शुरु


871
Shares

इलाम । केही वर्षअघि नेपाल भित्र्याइएको ड्रागन फल अहिले इलाममा व्यावसायिक खेतीको रूपमा शुरु गर्न थालिएको छ ।

सेतो र रातो जातको यो फल अहिले इलामेली किसानले पनि व्यवसायीक रुपमा लाउन थालेका छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यमका कारण सहजै किसानले ड्रागन खेतीबारे जानकारी पाएपछि इलाममा पनि ड्रागन फलको व्यावसायिक खेती शुरु भएको हो ।

समुद्री सतह देखी १५ सय मिटर उचाइसम्म खेती हुने ड्रागन फल दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा व्यवसायीक रुपमा खेती शुरु भएको छ ।

चुलाचुली गाउँपालिकाका वडासदस्य आइतमाया लिम्बुले ४ कट्टा जग्गामा जमिनमा यो खेती गरि आम्दानीको राम्रो श्रोत बनाउनुभएको छ । उत्पादनको पहिलो वर्षमा १ लाख २० हजारसम्मको ड्रागन फल बिक्रिबाट लिम्बुले आम्दानी गर्नुभएको हो । २ वटा बोटबाट खेती शुरु गर्नुभएको लिम्बुको बारीमा ४ सय बोट ड्रागन फलका बिरुवाले उत्पादन दिइरहेका छन् । सेतो र रातो गरि २ प्रजाती हुने यो फल लिम्बुका बारीमा २ प्रजातीबाटै उत्पादन हुँदै आएको छ ।

झापाको दमक बजारबाट नजिकै रहेको चुलाचुलीमा गाउँपालिकामा उत्पादित ड्रागन फलको बिक्रि समस्या नभएको स्थानीय ओम नारायण खनाल बताउनुहुन्छ । ड्रागनको फूल लागेको ३० देखि ५० दिनमा तयार हुने गर्दछ । ५ डिग्री सेल्सियस, तापक्रम र ९० प्रतिशत सापेक्षिक आद्रताको अवस्थामा ४० दिन सम्म राख्न सकिने भएकाले ड्रागनको फलमा किसानको आकर्षण बढ्दै गएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ बताउनुहुन्छ ।

पहिलो वर्षमा प्रति पोल ८ देखि १० वटा फल लाग्ने ड्रागन फलको मुख्य सिजनको रुपमा असोज–फाल्गुन मानिन्छ । ड्रागन फलको उत्पादन प्रति रोपनी २ सय ५० देखि –३ सय के.जी सम्म हुने गर्दछ । चुलाचुली गाउँपालिकाले ड्रागन फललाई फलफुल उत्पादनको दोस्रो प्राथमिकतामा राखेर लगानीको योजना समेत बनाएको छ ।