
नवलपरासी । जन्मको आधारमा नागरिकता पाएका अभिभावकका सन्तानले अब सहज रुपमा नागरिकता पाउने भएका छन् । सर्वोच्च अदालतले गत बिहीबार नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि त्यस्ता सन्तानका लागि नागरिकता पाउने बाटो खुलेको हो । सर्वोच्चले बाटो खुलाएसँगै नागरिकता वितरण हुन थालेपछि नवलपरासीका युवाले अबिर जात्रा समेत गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट सोमबार नागरिकता लिएर बाहिरिदैं गरेका युवाहरुमा खुसीको सीमा थिएन । बाहिरिदैं गरेका युवाहरुले नागरिकता पाएपछि एक आपसमा अबिर दलेर खुशी साटासाट गरेका थिए । सँगै आएका अभिभावकका आँखा पनि खुशीले रसाएका थिए । जिल्ला प्रशासनमा आएका अन्य सेवाग्राहीले पनि उनीहरुलाई बधाई दिएका थिए । नागरिकता पाएपछि केही युवाहरुले खुशी व्यक्त गर्दै नागरिकता छातीमै टाँसेर सुत्ने बताए । एक युवाले २० वर्षपछि नागरिकता पाएकोमा धेरै खुशी भएको बताए । धेरै समयको प्रतिक्षापछि नागरिकता पाएकोले १५ दिनसम्म छातिमा टाँसेर सुत्ने बताए ।
नागरिकता नपाउँदा सामान्य मोबाइलको सीम कार्डसमेत निकाल्न नपाएको उनीहरुको गुनासो थियो । यस्तै, नागरिकता नहुँदा उच्च शिक्षा हासिल गरेर बसेका युवाहरु सबैभन्दा बढी मारमा परेका थिए । जागिरदेखि अन्य कुनै पनि काम नपाउँदा निकै समस्या भोगेको उनीहरुको गुनासो थियो ।
नागरिकता नहुँदा जति पिर युवाहरुमा थियो । त्यो भन्दा बढी पिर उनीहरुका अभिभावकलाई थियो । खाइनखाइ छोराछोरीलाई पढाए पनि नागरिकताकै कारण उनीहरुको सपना पूरा नहुने पिरलोले अभिभावकलाई सताएको थियो । नागरिकता पाएपछि अभिभावक अझ बढी खुशी भएका छन् ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीमा अहिले जन्मको आधारमा नागरिकता पाएका अभिभावकका सन्तानहरु नागरिकता बनाउन आउन थालेपछि भीड बढेको छ । भीड बढेपछि जिल्ला प्रशासन कार्यालयले त्यस्ता प्रकृतिका नागरिकता वितरण गर्नका लागि छुट्टै कर्मचारी राखेर वितरण प्रकृया अघि बढाएको छ ।
नवलपरासीमा जन्मको आधारमा नागरिकता पाएका अभिभावकको संख्या ८ हजार १ सय ३० रहेको छ । उक्त संख्याको आधारमा अब २० हजार बढी सन्तानहरु नागरिकता बनाउन आउन सक्ने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्