
इलाम । असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन गाउँघरमा विस्तारै हराउँदै गएको छ ।
इलाममा केही सरकारी तथा गैरसरकारी संघसंस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरे पनि अहिलेका युवापुस्ताको भने कृषितर्फ आकर्षण घट्दै गएको छ । पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि अहँ असारे गीत बिरलै सुनिने गरेको छ ।
आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । धान रोप्दा गाइने असारे गीत रोपाइँमा दिनभर थाकेको बाउसे र रोपाराहरू एकअर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्दथे । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङ्छङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू पनि लठ्ठ पर्ने गर्दथे । तर ती दिनहरू अब इतिहासनै बनेका स्थानीय पदक बहादुर बिष्ट बताउनुहुन्छ ।

आज असार १५ राष्ट्रिय धान दिवस भए पनि किसानका खेत अहिलेसम्म पनि बाँझै छन् । दहि र चिउरा खाएर इलाममा केही सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरे पनि मानो खाएर मुरी उब्जाउने असार महिनामा पहिलेजस्तो उल्लास आजकल पाइन छाडेको छ । आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको छ । नयाँ पिँढीलाई असारे गीत गाउन आउँदा पनि आउँदैन । रोपाइँका बेला बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने हुँदा उत्सवजस्तै मानिने असारे रोपाइँको रौनक घटेको इलाम नगरपालिकाकी उपप्रमुख बिष्णु कुमारी दाहाल लिम्बुको भनाई छ ।

इलाम नगरपालिका वडा नम्बर– ९ का अध्यक्ष गोपाल चौहान पनि परम्परागत संस्कृति आधुनिकताको नाउँमा बिस्तारै लोप हुन थालेको र त्यसको संरक्षण गर्नु पर्ने बताउनुहुन्छ । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रैथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ । ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म गर्ने चलन नेपालीका मौलिक चलन हुन् । यी कृषिसँग नै सम्बन्धित चलन भएकाले यिनै प्रचलनको जगमा नै नेपाली समाजको एकता र विविधता दुवै समेटिएको छ । त्यसैले पनि कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो तर परम्परागत सीप र साधनलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।
प्रतिक्रिया दिनुहोस्