१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्षायाम सुरु भएसँगै अस्पतालमा झाडापखालाका बिरामी बढ्दै


247
Shares

काठमाडौं । गर्मी तथा बर्षायाम सुरु भएसँगै हैजा तथा झाडापखालाको प्रकोप हुने जोखिम हुन्छ । सामान्यतया झरी पर्दा पानी दुषित हुने खानपानको तालमाल नमिल्दा झाडापखालाले ज्यान समेत लैजाने गरेको छ । बर्षायाम सुरु भैसकेपछि अस्पतालमा झाडापखालाका बिरामी बढ्न थालेका छन् ।

छिनमै चर्को घाम र छिनमै बर्षा हुने हुँदा बिरामी पर्नेहरु बढ्न थालेका छन् । सामान्यतया अस्पतालमा टाउको दुख्ने ज्वरो आउने बिरामीहरुसँगै झाडापखलाका विरामी बाक्लिएका छन् । मनसुन सुरु भएपछि झाडापखलाको जोखिम उच्च रहने गर्दछ । गत बर्ष तराईमा झाडापखाला महामारीकोे रुपमा देखिएको थियो ।

झाडापखाला विशेष गरेर ब्याक्टेरिया भाइरसको संक्रमणले गर्दा हुन्छ । दूषित खाना, पानी, फोहोर हातका माध्यमबाट झाडापखालाका कीटाणु फैलिन्छन् । पेटको आन्द्रामा हुने ब्याक्टेरियाको संक्रमणले झाडापखाला हुन्छ । त्यस्तै, खानाको पेटमा हुने एलर्र्जीको कारण, आमासयले कार्बाेहाइड्रेट पचाउन नसक्ने अवस्थामा झाडापखाला भई शरीरबाट धेरै मात्रामा नुन, पोषकतत्व र पानीखेर जाने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

झाडापखाला लाग्दा शरीर शिथिल हुने, मुटु, मस्तिष्क र मृगौलामा पर्याप्त मात्रामा रगत नपुग्ने लगाएतका समस्या देखा पर्दछन् । झाडापखाला सजिलैसँग उपचार गरेर निको पार्न सकिने रोग हो । समयमै यसका लक्षण पहिचान गर्ने हो भने सामान्य औषधि तथा जीवनजलकै सेवनले समेत यो रोग निको हुन्छ । अलिक जटिल अवस्थामा सुइ मार्फत पनि शरीरमा तरल पदार्थ तथा औषधि आपूर्ति गर्नुपर्छ । तर यदि झाडापखाला लाग्दा हेलचेक्र्याइँ गरियो भने यसले ज्यानै लिन बेर लगाउँदैन ।

वर्षायाममा झाडापखाला, हैजालगायत रोग फैलने सम्भावना उच्च हुने भन्दै त्यसबाट जोगिन विभिन्न सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । बेलाबेलामा साबुनपानीले हात धुने, खानेकुरा राम्रोसँग पकाएर मात्र खाने, फोहोर, बासी तथा सडेगलेको खानेकुरा नखाने, पानी उमालेर मात्र पिउने, फलफूल, सागपात तथा सलादहरु राम्रोसँग धोएर तथा सफा गरेर मात्र खाने गर्नाले पनि झाडापखालाबाट बच्न सकिन्छ ।