
स्याङ्जा । स्याङजाका सडकमा संचालित सवारी साधनहरुका लागि नयाँ भाडादर तोकिएको छ ।
पक्की र कच्ची सडकमा गण्डकी प्रदेशले समायोजन गरेको भाडा दरको आधारमा भाडादर निर्धारण गरिएको हो ।ग्रामीण क्षेत्रमा रहेका कच्ची सडकमा चल्ने बसका लागि प्रतिकिलोमिटर ११ रुपैयाँ र जीपका लागि भने १२ रुपैयाँ भाडादर तय गरिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिनुभयो ।
भाडादर निर्धारण समिति र सरोकारवालाको बैठकले एक हप्ताभित्र लागू गर्ने गरि भाडादर निर्धारण गरेको हो । जिल्लामा भएको निर्णय बमोजिम स्थानीय व्यवसायीले समितिको बैठकबाट रूट र भाडा निर्धारण गरी जिल्ला प्रशासनमा बुझाएपछि भाडादर कार्यान्वयनमा आउनेछ।प्रमुख जिल्ला अधिकारीको संयोजनमा स्याङ्जाका स्थानीय तहका प्रमुख, यातायात व्यवसायीहरूबीच भएको छ्लफलबाट भाडादर निर्धारण गरिएको यातायात व्यवसायी श्यामकाजी अधिकारीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशले समायोजन गरेको भाडा दरका आधारमा पक्की र कच्ची सडकमा भाडा दर निर्धारण गरिएको हो।पक्की सडकमा गण्डकी प्रदेशले समायोजन गरेको भाडा दरका आधारमा बस यात्राका लागि प्रति किलोमिटर ५ रुपैयाँ ५० पैसा र जीपमा प्रतिकिलोमिटर ६ रुपैयाँ कायम गरिएको छ। वि.स २०७२ सालपछि नयाँ भाडादर कायम गरिएको ब्यवसायीको भनाई छ ।प्रदेशले निर्धारण गरेको भाडादरका आधारमा स्थानीय सडकहरूमा चल्ने सवारी साधनका लागि भाडादर निर्धारण गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको भएपनि यातायात व्यवसायीहरूले आफुखुशी भाडादर निर्धारण गर्ने गरेका थिए ।

कच्ची तथा पक्की सडकमा गुड्ने सवारी साधनले ८ देखि २५ रुपैंयासम्म भाडा लिने गरेको गुनासो प्रशासनमा आउन थालेपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले भाडादरमा समायानुकलन र एकरुपता ल्याउनेगरी यातायात ब्यवसायी, संचालक एवं यात्रु सहितको बैठक बसेर भाडादर निर्धारण गरिएको बताउनुभयो ।
यातायात व्यवसायीले निर्धारण गरेभन्दा बढी भाडा लिएमा स्थानीय तह, नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्