२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सडकमा हिँड्नै दिक्क लाग्ने नागरिकलाई सुन्दर फूलहरुले रोकिदियो सडकमै


18.85k
Shares

काठमाडौं । घरबाट बाहिर निस्कनासाथ उकुस मुकुस लाग्ने काठमाडौं शहर केही शान्त, सुन्दर र सफा देखिएको छ । दशकौंदेखि राजनीतिक प्रतिवद्धता धेरै गरिएको तर व्यवहारमा तहसनहस बन्दै गएको राजधानी शहर काठमाडौंमा गुणात्मक सुधार हुँदै गएको अनुभव गरिएको छ । गुजुल्टिएको टेलिफोन तार, पैदलयात्रीका लागि सहज बन्न नसकेको फुटपाथ र ट्राफिक व्यवस्थापनमा आएका सुधारले महानगरबासी आशावादी बनेका हुन ।

अव्यवस्थित पार्कीङ, सडक पेटी भरी रहेका फुटपाथ पसल, अव्यवस्थित होडीङबोर्ड, लथालीङग बिजुली तथा ईन्टरनेटका तारले जेलीएको काठमाडौं महानगरपालिकाले केही हदसम्म राहत पाएको छ । महानगरले स्वच्छ, सफा सहर बनाउने उद्देश्यले पार्क, आइल्याण्ड निर्माण, मर्मत, संरक्षण र वृक्षारोपणसम्बन्धी अभियान सञ्चालन गरेपछि काठमाडौं सुन्दर बन्दै गएको छ ।

यसका लागि महानगरले ५० करोड रूपैयाँ विनियोजन गरेको छ । महानगरपालिकाले सडक किनारमा राखेका फूल, सहज सडक, विभिन्न रंगले पोतिएका पर्खाल, रंगीविरंगी फूलले महानगरको सौन्दर्यमा वृद्धि भएको छ । सडकमा हिँड्नै दिक्क लाग्ने आम नागरिक सडकमा रोकिएर फूल हेर्ने, फेटो खिच्ने रमाउने गर्न थालेका छन् ।

हुन त काठमाडौंका तात्कालीन मेयर केशव स्थापितको समयमा सडक किनारमा फूल लगाउने विषय उठेको थियो । तर, जोगाउन कठिन भएको भन्दै फूल रोपिको थिएन । तर महानगरले तीन वर्षभित्र तीन लाख विरुवा रोप्ने लक्ष्य लिएको र यो वर्ष १ लाख रोपिसक्ने जनाएको छ ।

त्यस्तै, सहज स्थानमा पार्किङको जोहो गर्न नसकेको आलोचना खेपिरहेको बेलामा अव्यवस्थित पार्किङ हटाएर सडक सहज बनाएको विषयमा महानगरले तारिफ पाएको छ । त्यस्तै व्यस्त तथा पर्यटकिय स्थान बसन्तपुर हातामा सवारी साधन प्रवेशमा रोक लगाएपछि यो स्थान पनि व्यवस्थित बनेको छ ।

‘धुलोरहित काठमाडौं’ योजनाअन्तर्गत महानगरभित्रका डीपीआर भएका सडक तथा पेटी मर्मत गर्न १ अर्ब रूपैयाँ विनियोजन गरेको जनाएको छ । महानगरले ‘सुन्दर महानगर योजना’ अन्तर्गत महानगरभित्रका सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई नियमित मर्मत गर्न १० अर्ब रूपैयाँ छुट्याएको छ । त्यस्तै, महानगरपालिकाले ‘उज्यालो सहर, मेरो महानगर’ अन्तर्गत सबै सडक तथा गल्ली उज्यालो बनाउन बत्ती जडान गर्न ३० करोड रूपैयाँ विनियोजन गरेको छ ।

यसबाहेक महानगरले सामुदायिक विद्यालय परिसरभित्रको सरसफाइ र सौन्दर्यलाई ध्यान दिँदै विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउन ५ करोड रूपैयाँ विनियोजन गरेको छ । महानगरका आगामी योजना पनि महानगरको सौन्दर्यको पक्षमा रहेका छन् । महानगरमा हुनुपर्ने सुधार थुप्रै छन् । तर पनि सहर व्यवस्थित बनाउन महानगरले पछिल्लो समयमा गरेका काम तारिफयोग्य छन् ।