१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डेंगी संक्रमितहरु बढ्दै


2.197k
Shares

काठमाडौं । बर्षायाम सरु भएसँगै डेंगीको जोखिम बढ्न थालेको छ । केही दिन यता डेंगीका संक्रमितहरु बढ्न थालेका छन् । यो वर्ष सबैभन्दा बढी संक्रमित कोशी प्रदेशमा देखिएका छन् भने हालसम्म ६६ जिल्लामा डेंगी फैलिइसकेको स्वास्थय मन्त्रालयको तथ्यांक छ ।

एडिस एजप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगीको संक्रमण जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । यस प्रजातिको लामखुट्टेले सफा पानीमा अण्डा पार्ने भएकाले यसको असर ग्रामीण भेग भन्दा सहरी क्षेत्रमा बढी हुने गरेको पाइएको छ ।

यो वर्ष जनवरीदेखि देशभर झण्डै १२ सय व्यक्तिमा डेंगी संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा धेरै संक्रमण दार्चुला, धादिङ र सुनसरीमा फैलिएको छ भने ६६ जिल्लामा यसको संक्रमण देखिएको छ । जुनदेखि अगस्टलाई डेंगीले महामारीको रूप लिन सक्ने समय मानिन्छ । मनसुनपछिको समयमा डेंगी संक्रमण बढ्न सुरु हुन्छ ।

नेपालमा सन् २००४ पुष्टी भएको डेंगी सन् २००६, २०१०, २०१३, २०१६, २०१७, २०१९ र २०२२ मा बढी मात्रामा देखिएको थियो । जसमध्ये २०१९ मा पुष्टी भएको डेंगी प्रकोपको रुपमा फैलिएर देशका ६८ जिल्लामा फैलँदा ६ जनाको मृत्यु भएको थियो । २०२२ सालसम्म आउँदा डेंगी झनै विकरालको रुपमा फैलिएको थियो । जसबाट हालसम्मकै बढी ५४ हजार ७८४ जनामा डेंगीको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्युसमेत भयो । पछिल्लो तथ्यांकअनुसार नेपालमा २–३ वर्षको अन्तरालमा डेंगीले प्रकोप लिएको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

डेंगीको संक्रमण देखिएपछि ज्वरो आउने, शरीर दुख्ने दादुराजस्ता फोका आउने, टाउको दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् । संक्रमणका कारण रगतमा प्लेटलेट्स कमी हुने भएकाले बिरामीले पोसिलो र झोलिलो पदार्थ बढी मात्रामा खानुपर्ने चिकित्सकको सुझाव छ ।

गत वर्ष डेंगी सक्रमण महामारीकै रुपमा फैलिएपछि सिटामोल लगायतका औषधिसँगै, बजारमा रगतको अभाव देखिएको थियो । त्यस्तै, डेंगी नियन्त्रणका लागि सरकार तथा स्थानीय तहरुले लामखुट्टे मार्नका लागि विभिन्न अभियान सञ्चालन गरेपनि प्रभावकारी नहुँदा ठूलो क्षति भएको थियो ।

अहिलेको अवस्थामा डेंगीको प्रकोप नै नभएपनि फैलँदो अवस्थामा रहेको छ । यसलाई नियन्त्रण गर्न व्यक्ति आफैं तथा स्थानीय तहदेखि सरकारको तहबाट नै लाग्नु जरुरी छ ।