
झापा । शिक्षण सिकाईमा सूचना र सञ्चार प्रविधिको प्रयोग प्रभावकारी देखिएको छ । झापाको बिर्तामोडको रामचौकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आईसीटी प्रविधिमा पठन पाठन हुँदै आएको धेरै भयो । यो प्रविधिसंगै अहिले विद्यार्थीको चाप पनि बढ्दै गएको छ ।
शिक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो (इभेन्ट) मार्फत सरकारले मोहनमाया माध्यमिक विद्यालयलाई आईसीटी कक्षा सञ्चालनका लागि अनुमति प्रदान गरेसंगै अहिले यो विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठन– पाठन भई रहेको छ । आर्थिक वर्ष २०७८/०७९ देखि यो विद्यालयलाई आईसीटी कक्षा सञ्चालनका लागि सहयोग पु¥याएसंगै परम्परागत पठन –पाठनको शैलीलाई स्मार्ट प्रविधिबाट पठन –पाठन गरिदै आएको छ । जसका कारण विद्यार्थीलाई सिकाउन र उनीहरुलाई बुझ्न समेत सहज भएको विद्यालयका शिक्षिका कविता सापकोटाको अनुभव छ ।
आइसीटी कक्षा सञ्चालनका लागि यो विद्यालयलाई ३० लाख ६२ हजार पाँच सय रुपैयाँ आर्थिक सहयोगसमेत गरीएको छ । विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठन –पाठन हुन थालेपछि विद्यार्थीहरु पनि उत्साहीत भएकाछन् । प्रविधिको अधिकतम प्रयोग गर्दै पठन –पाठन शुरु गरेसंगै यो विद्यालयमा अध्ययन गर्न निजी विद्यालय त्यागेर आउने विद्यार्थी पनि धेरै छन् ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप खेपीरहेका कतिपय सामुदायिक विद्यालयका लागि यो विद्यालय उदाहरणको रुपमा देखिएको छ । विद्यालयको शैक्षिक गुणस्तरका विषयमा जानकारी लिने उद्देश्यले देशका विभिन्न विद्यालयबाट अवलोकनका लागि समेत आउने गरेका छन् । आइसीटीको प्रयोगले विद्यालयमा विद्यार्थीले सहजै सिक्न पाएको र उनीहरुलाई प्रविधिको उच्चतम प्रयोग गर्दै सिकाउन इभेन्ट परियोजनाले ठूलो सहयोग पुर्याएको विद्यालयका प्रधानाध्यापक शेरवहादुर श्रेष्ठले बताउनुभयो ।

आइसीटीको प्रयोग विशेष कक्षा (सुस्त श्रवण भएका विद्यार्थी ) सञ्चालनका लागि अझ बढी प्रभावकारी देखिएको छ । यो विद्यालयमा आवास सहित सुस्त श्रवण भएका विद्यार्थीलाई समेत पठन – पाठन गराइने गरिएको छ । झपामा रहेका ३ सय ६५ सामुदायिक विद्यालय मध्ये यो बिद्यालय जिल्लाकै नमूना विद्यालय मध्येमा पर्दछ । त्यसैले प्रविधिमैत्री सिकाईमा ध्यान दिने हो भने सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने पक्का छ ।
प्रतिक्रिया दिनुहोस्