
काठमाडौं । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी अन्तर्गतका विभिन्न जिल्लामा रहेका बिक्री केन्द्रहरुमा उपभोक्ताको माग धान्न नसक्ने अवस्थामा पुगेको छ । कम्पनीले खाद्य सामाग्री निःशुल्क घर घरमै पुर्याउने व्यवस्था गरेसँगै गाउँघरमा उत्पादित वस्तुको माग बढेको हो ।
कम्पनी अन्तर्गतका बिक्री केन्द्रहरुमा उपभोक्ताको भान्सामा प्रयोग हुने विधिन्न प्रकारका खाद्यान्नको माग बढेको छ । कुनै समय चाडपर्व लक्षित गरेर हुने छुटलगाएतका योजना ल्याउँदा चहल पहल हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री कक्षहरुमा अहिले सधैंजसो उपभोक्ताको भीड बढेको देखिन्छ ।
बजार मूल्य भन्दा सस्तो, रैथाने वस्तु, गुणस्तर तथा तौलमा विश्वसनीय भएकोले उपभोक्ताको रोजाईमा खाद्यको सामाग्री पर्ने गर्दछ । सरकारका विभिन्न अनुदानका कार्यक्रमसहितको रकममा उच्च मूल्याङकनमा खरिद गरी खाद्य सामाग्री बिक्री केन्द्रमा ल्याउने गरिन्छ । गुणस्तर मापन, उपभोक्ताको रुचि, खरिद क्षमता हेरेर कम्पनीले आफ्नै स्वामित्वमा खरिद प्रक्रिया अघि बढाउने भएकाले यसको विश्वसनीयता थप बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी बागमति प्रदेश प्रमुख ज्ञानु थापा बताउनुहुन्छ ।
खाद्यले ३० प्रकारका खाद्यान्न, ग्यास तथा विभिन्न विद्युतीय सामाग्री बिक्री गर्दै आएको छ । त्यस मध्ये कर्णालीका विभिन्न क्षेत्रका चामल, दाल, फापर लगाएतका सामाग्री उपभोक्ताको लागि रैथाने, फरक स्वाद र नौलो रहेको छ । त्यस्तै, चामलको भने खाद्य संस्थामा ठूलो माग रहेको छ । खाद्यले विभिन्न जिल्लामा गएर धान खरीद गरेर आफ्नै मिलबाट चामल तयार गर्ने गर्दछ । केही वर्ष अगाडि मात्र दिनको ३० हजारसम्मको बिक्री गर्न नसकेको थापाथली स्थित बिक्री केन्द्रमा हाल दैनिक पाँच देखि १२ लाख सम्मको बिक्री हुने गर्दछ । अनलाइनको माध्यमबाट अत्यधिक खाद्य सामाग्रीहरु बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमति प्रदेश प्रमुख थापा बताउनुहुन्छ ।
विभिन्न भेगका खाद्यान्नलाई फरक फरक बिक्रि केन्द्रहरुमा पुर्याउन कम्पनीमाथि चुनौति छ । अझ सडक सञ्जालसंग नजोडिएका कर्णालीका विकट स्थानमा रहेका बिक्री केन्द्रमा खाद्य सामग्री पुर्याउन र उताबाट ल्याउन कठिन छ । उपभोक्ताको माग धान्न कठिन भएपछि कम्पनीले बिक्री कक्ष थप गर्ने तयारीमा गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्