२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इलामको सन्दकपुरमा सिँचाई आयोजना निर्माण भएपछि किसान दंग


247
Shares

इलाम । इलामको सन्दकपूर खोपिखर्क सिँचाई आयोजना निर्माण भएपछि किसानलाई सिंचाई सुविधामा सहज भएको छ । ४७ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको सिंचाई योजनाबाट ५ सय ८० रोपनी क्षेत्रफलमा हिउँद र वर्खासिजनमा नै सिंचाई सुविधा पुगेपछि किसान दंग छन् ।

२० वर्ष अघि निर्माण भएको कुलो भत्किएपछि सन्दकपूर ५ जमुनाका किसान समस्यामा थिए । कृषि उपज, तरकारी र अलैची खेतीका लागि प्रयोग हुने कुलो मर्मत नहुँदा किसानले सिँचाईको लागि समस्या भोग्दै आएका थिए । तर, अहिले साना सिँचाई कार्यक्रमबाट कुलो पुनः निर्माण भएपछि सन्दकपूर ५ जमुनाको हाँगेथाम क्षेत्रका किसानहरुको सिँचाई समस्या हटेको छ ।

स्वीस सरकार विकास सहयोग, संघीय, प्रदेश सरकार, स्थानीय तह र उपभोक्ताको जनश्रमदानमा कुलो पुनः निर्माण भएको हो । खोपिखर्क साना सिँचाई योजना ४७ लाख ४९ हजारमा निर्माण सम्पन्न भएको हो । सिँचाई योजना सम्पन्न भएपछि व्यवसायीक कृषि उपज उत्पादनमा सहज भएको वडाध्यक्ष यज्ञ गुरुङ्गले बताउनुभयो ।

सिँचाई योजनाबाट ५ सय ८० रोपनी क्षेत्रफलमा हिउँद वर्षात नै सिँचाई सुविधा पुगेको छ । २ हजार ९ सय ४७ मिटर लामो पक्कि कुलो निर्माणका लागि उपभोक्ताको १० प्रतिशत, स्थानीय तह, संघीय, प्रदेश सरकारको २०/२० प्रतिशत र स्वीस सरकारको ३० प्रतिशत लगानी रहेको छ ।

दूई चरणमा कार्यान्वय हुँदै आएको साना सिँचाई कार्यक्रममा अन्तर्गत इलाम र पाँचथरमा २० वटा सिँचाई योजना सम्पन्न भएको साना सिँचाई कार्यक्रम फिक्कल कष्टरका प्रमुख केशव लामाले बताउनुभयो ।

साना सिँचाई कार्यक्रम उपभोक्ताहरु र आयोजनाबाट नियमित अनुगमन हुने भएकाले गुणस्तरीय काम हुने गरेको छ । जसले गर्दा ग्रामीण क्षेत्रका कुलोहरुको दिगोपना हुनुका साथै किसानले सिँचाई सुविधा पाएका छन् ।