२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


विमानस्थल भन्सारमा धातु र लागुऔषध पहिचान गर्न सक्ने राम्रो मेसिन छैन


1.911k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कटाइसकेको एक क्विन्टल सुन बरामद गर्न सफल भएपछि मुलुक यतिबेला तरंगित छ । अर्थ र गृह मन्त्रालयका सबै संयन्त्र पार गरेर निस्किएको क्विन्टल सुनलाई केही वर्षअघि मात्र प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याइएको राजस्व अनुसन्धान विभागले जफत गरेको हो । नक्कली भुटानी शरणार्थी, ललितादेवी निवास जग्गासँगै थपिएको क्विन्टल सुन प्रकरणले सरकार संरक्षित अपराधमा ह्याट्रिक गरेको छ ।

सरकारी निकायमै समन्वय अभाव, अविश्वास र दोषको स्वामित्व लिन नरुचाउने कर्मचारी प्रवृत्तिबीच अब घुन र चामल छुट्टिनेमा धेरैलाई संशय छ । २०७३ पुस २१ गते अवैध रुपमा विमानस्थल हुँदै ३३ केजी सुन भित्रियो । दुबईबाट आएको भनिएको ३३ किलो तस्करीको सुन हराएको प्रकरणमा व्यक्तिहत्या पनि जोडिएपछि यसले तस्करीका थुप्रै पाटोलाई छताछुल्ल पारिदिएको थियो ।

तस्करीको लहरोले तानेको पहरोमा पुलिसका उच्च अधिकारीदेखि भन्सारका २९ कर्मचारी निलम्बित भए । सुन प्रकरणमा सरकारले गठन गरेको विशेष छानबिन समितिले ६३ जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर ग¥यो । सहसचिव ईश्वरीराज पौडेल नेतृत्वको छानबिन समितिले दुई वर्षको अवधिमा तस्करीमार्फत ३ हजार ८०० केजी सुन नेपाल भित्रिएको तथ्य उजागर गरेको थियो ।यति ठूलो कडी समातिएपछि समस्या समाधान हुुनु सट्टा झन विकराल हुँदै गयो । गोरे भनिने चुडामणि अधिकारी बाहेक सबै अदालतको सुन पानीपछि निरपराध सावित भएर चोखिए ।

यसपटकको सुन प्रकरणमा भने आफूहरु कुनै दवावमा नपरी सत्य तथ्य पत्ता लगाउने अठोट राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना बताउनुहुन्छ ।

दैनिक नियमानुसार नेपाल भित्रिने सुन भनेको २२ किलोग्राम मात्र हो । अवैध बाटोबाट आउने सुनको कुनै हिसाब नै छैन । जतिबेला थोरै परिमाणमा सुन समातिन्छ, त्यतिबेला मात्र केही दिन चर्चा चल्छ । त्यसपछि सबै तैं चूप मै चुपको धन्दा चलिरहन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको सुनको ‘सेटिङ’ पहिलो होइन । पञ्चायतकालमै २०४२ फागुनमा चन्द्रबहादुर बुढा ४२ तोला सुनसहित त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए । पछि उनी ‘सुन बुढा’का नामले चर्चित रहे । विगतमा जनआन्दोलन २०६२–६३ अघि र पछि पनि संसदमा विभिन्न सुन काण्डबारे व्यापक कुरा उठ्ने गरेको हो ।

सार्वजनिक जानकारीमै आएका दर्जनौं सुन काण्ड छन् । प्रत्येक पटक किलोका किलो सुन काण्ड आउँछन् र समयसँगै हराउँछन् । विमानस्थलमा कर्मचारीको व्यवस्थापन ‘सेटिङ’ कै आधारमा हुन्छ । त्यसको प्रयोग यस्तो तस्करीका निम्ति प्रयोग हुन्छ । अहिले आएर नेपाल, भारत र चीनका तस्करहरूको बहुराष्ट्रिय सञ्जालले काण्ड गराइरहेको देखिएको छ ।

भन्सारमा धातु र लागु औषध पहिचान गर्न सक्ने मेसिनको व्यवस्था छैन । भए पनि बिगारिन्छ । बरु मेसिन बिगारेर तस्करीलाई सहज बनाइएको छ । भन्सार विभागले यस्तो अवैध कारोबार रोक्न सकेको देखिएन । अर्को निकाय राजस्व अनुसन्धान विभागको सक्रियता नभएको भए यो सम्भव थिएन । यसको अर्थ हो– अझै सन्तुलन र नियन्त्रणको व्यवस्था कमजोर छ ।

यस्तो काम दैनिक भइरहेको छ तर औँसी–पूर्णिमामा मात्र समात्ने काम भएको छ । यसले समग्र प्रणालीलाई ध्वस्त तुल्याउने भय रहन्छ । तस्करीमाथि बलियो गरी अंकुश नलगाउने हो भने अहिलेको प्रणाली नै थप बदनाम हुँदै जाने छ । सुन तस्करीसम्बन्धी यसअघि कैयन् अनुसन्धान भएका छन् । यसैका आधारमा फेरि एउटा शक्तिशाली आयोग बनाएर भन्सारको सुरक्षा प्रणालीलाई मजबुत नबनाएसम्म यस्ता क्रियाकलाप निरन्तर चलिरहने छन् ।