१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जोखिमपूर्ण दैनिकीसँगै ट्राफिक प्रहरीमाथि आफ्नै सुरक्षा चुनौती


2.782k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, सीमित साँघुरा सडक र सडक प्रयोगकर्ताहरुको हेलचेक्र्याइँले आवागमन असुरक्षित बन्दै गएको छ ।

अरु त अरु ट्राफिक व्यवस्थापनमा दिनरात सडकमा खटिएका ट्राफिक प्रहरीमाथि सुरक्षा चुनौती थपिएको छ । उखरमाउलो गर्मी होस या असार साउनको भेलमा घुँडाघुँडा चोपलिएर ट्राफिक व्यवस्थापनमा निमग्न प्रहरीका लागि ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । अनियन्त्रित सवारी चापले आईल्याण्ड नभएको ठाउँमा खटिएका प्रहरीका लागि ज्यान जोगाउने मुस्किल हुने अवस्था देखिन थालेको छ ।

ट्राफिकमाथि सांघातिक आक्रमण मात्र हैन, सवारीले हिर्काएर ज्यान लिनेसम्मका काम भएका छन् । यसखाले जोखिमले ट्राफिक प्रहरीलाई समेत अत्याउने गरेको छ । यद्यपि फिल्डमा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक बन्दोबस्त मिलाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र भट्ट बताउनुहुन्छ ।

धूलो धुवाँका कारण ट्राफिक प्रहरीमा श्वासप्रश्वासको समस्या बढेको छ । त्यतिमात्र हैन, शुद्ध खानेपानी, शौचालयको अभाव, आँखा र छालाको सुरक्षा पनि ट्राफिक प्रहरीले भोग्दै आएका समस्या हुन । दैनिक रुपमा देखिने यसखाले स्वास्थ्य समस्याको व्यवस्थापन पनि ट्राफिक प्रहरीले मिलाउनु पर्ने हुन्छ ।

फिल्डमा खटिनुअघि सामूहिक रुपमा स्वास्थ्य र सुरक्षाका विषयमा दैनिक निर्देशन दिने गरिएको ट्राफिक प्रहरीको भनाई छ । धेरै ठाउँमा ट्राफिक बत्तीले काम नगर्दा दबाब पर्ने भएकाले पनि ट्राफिक प्रहरी थप श्रम गर्न बाध्य छन् ।

कुल १८ सय दरबन्दी रहेको ट्राफिक प्रहरीमा २ सय १४ महिला ट्राफिक प्रहरी छन् भने १५ सय ८६ पुरुष ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनको काम सम्हाल्दै आएका छन । ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन सवारी चाप घटाउनु त छँदैछ, ट्राफिक बत्ती चुस्त दुरुस्त राख्नेदेखि ट्राफिक प्रहरीका न्यूनतम आधारभूत आवश्यकता ख्याल गर्न आवश्यक छ ।