
काठमाडौं । काठमाडौंको उत्तरी भेगका ऐतिहासिक बस्ती तोखा कुनै बेला उखु उत्पादन र चाकुको लागि मात्र होइन डाँडाकाँडामा पानीको मुल जरुवाबाट कलात्मक हिति बनाएर नै सुसंस्कृत पानी वितरण समेत हुने गर्दथ्यो । तर अहिले अव्यवस्थित जग्गा प्लटिङ्गका कारण जरुवा पानीको मूल सुकेको छ भने हितिहरुको अस्तित्व समेत समाप्त भएको छ ।
लिच्छवीकालिन काठमाडौंको तोखा नगर डाँडाकाँडामा पानीको मुल जरुवा प्रशष्ट थियो । यो सँगै कलात्मक हितिहरु पनि थिए, जसले पूर्खाको स्वर्णिम गौरब गाथा समेत गाईरहेको भान हुन्थ्यो । तर, वर्तमान अवस्थामा यस्तो प्राकृतिक जरुवा र ऐतिहासिक हितिहरुको अस्तित्व समेत समाप्त भएको छ । अहिले प्लटिङ्गका कारण तोखाको हात्तिडोलमा रहेको ऐतिहासिक जरुवा हितिको नामो निसान छैन ।
विगतमा चिसो जरुवाको पानी सबैको आकषर्ण थियो तर केही वर्ष पहिले यहाँ अव्यवस्थित जग्गा प्लटिङ्ग र घर निमार्णका कारण हिति नासिएको छ । हिति नासिएपछि स्थानीय जागरुक महिला एकजुट भएर हात्तिडोलमा जरुवा खानेपानी उपभोक्ता समिति गठन गरेर हितिको प्राकृतिक स्वरुप बचाउन लागि परेका छन् । अहिले समितिको पहलमा जरुवाको प्राकृतिक मूल संरक्षण गरेर पानी टंकीमा जम्मा गरेर पाइपमार्फत प्रतिजार १० रुपैयाँमा खानेपानी विक्री गर्न थालिएको छ । हितिको वास्तविक स्वरुप भने ठेकेदारले मिल्काइ दिएको समिति हात्तिडोल जरुवा खानेपानी उपभोक्ता समितिकी अध्यक्ष पार्वती भण्डारी बताउनुभयो ।
त्यस्तै, अर्का ऐतिहासिक हितिको पनि अवस्था यस्तै छ । हिति मूलमा नै असर पुग्ने गरि चारै तिर घर निमार्ण भईसकेको छ । त्यसैले यहाँको हिति अस्तित्व संकटमा छ । अहिले पानी टांकीमा जम्मा गरेर पानी सिमित रुपमा वितरण भइरहेको छ । यहाँको शिलापत्र समेत दुरावस्थामा रहेको छ । हजारौं वर्ष पुरानो साँस्कृतिक र ऐतिहासिक निधिले धनी देशमा विकासको खाका कोर्दा यस्ता सम्पदाको संरक्षणलाई पहिलो एजेण्डामा राखिनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्