२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्याङ्जाको कालीगण्डकीमा ग्यासरहित पालिका अभियान सुरू


1.222k
Shares

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ग्यासरहित पालिका बनाउने अभियान सुरू गरेको छ ।

पालिकाले निःशुल्क विद्युतीय चुल्हो वितरण गरी ग्यासलाई विद्युतबाट विस्थापित गर्ने अभियान थालेको हो । आगामी ३ वर्ष भित्र पालिका भित्रका सम्पूर्ण घरमा विद्युतीय चुलो पर्‍याउने लक्ष्य कालीगण्डकी गाउँपालिकाले लिएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकालाई सिलिण्डरमुक्त बनाउन निःशुल्क विद्युतीय चुल्हो वितरण गरेको छ । ‘एक घर, एक विद्युतीय चुलो’ बनाउने अभियानका साथ कालिगण्डकी गाउँपालिकाले अभियान थालेको हो । आगामी ३ वर्षभित्र ग्यास सिलिण्डरमुक्त गाउँपालिका हुनेछ ।

पालिकाभित्रका ४ हजार ७ सय परिवारको भान्साबाट परम्परागत र सिलिण्डर चुलो विस्थापित गरी धुँवारहित पालिका बनाउने अभियानका लागि २ करोड रुपैयाँ खर्च हुने र वार्षिक ५ करोड बजेट रूपैयाँ बचत हुने गाउँपालिका अध्यक्ष खिम बहादुर थापा बताउनुभयो ।

‘ग्यास विस्थापन गरौं, विद्युतीय उपयोग बढाऔं’ भन्ने नाराका साथ पालिकालाई ग्यास सिलिण्डर मुक्त गाउँपालिका बनाउन निशुल्क विद्युतीय चुलो वितरण अभियानकै रूपमा अगाडि बढेको हो । विद्युतीय चुलो वितरणका लागि लाभग्राहीको घरको विद्युतीय पूर्वाधारको अवस्था सर्वेक्षण गरिसकिएको छ । कम्तिमा १६ एम्पिएर क्षमता बराबरको मिटर जडान र वाएरिङ भएका १ सय ६१ लाभग्राहीलाई पहिलो चरणमा विद्युतीय चुल्हो वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले बताउनुभयो ।

लाभग्राहीको आवश्यकता अनुसार इन्फ्रारेड र इन्डक्सन दुबै प्रकृतिको विद्युतीय चुल्हो उपलब्ध गराइएको पालिकाले जनाएको छ । विद्युतीय चुल्हो पाएपछि लाभान्वित स्थानीयहरु खुशी भएका छन् ।

पहिले वनजङ्गलबाट दाउरा ल्याउन पर्ने यस बाट निस्कने धुँवा धुलोले स्वास्थयमा असर हुन्थ्यो अहिले इन्डक्सन चुलोले स्वास्थ्य राम्रो हुने र पैसाको पनि बचत हुने भएकाले खुशी लागेको लाभग्राही विमला पाण्डले बताउनुभयो ।

कालीगण्डकी गाउँपालिकामा देशकै ठूलो मध्येको १ सय ४४ मेघावाटको कालीगण्डकी जलविद्युत केन्द्र रहेको छ । पालिकाभित्र करिब ४ हजार ७ सय घरधुरी रहेका छ्न् । विगत ४ वर्षदेखिनै पालिकाले न्युनतम २० युनिटसम्म विधुत निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

यस्तै, कामले गर्दा सिंहदरबार गाउँ गाउँमा आयको अनुभुती स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले यहाँका जनतालाई गराएको देख्न सकिन्छ ।