२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


‘घरभित्र गाडी छ, बाहिर ल्याउने बाटो छैन’


235.105k
Shares

काठमाडौं । तपाईंले कतै काठमाडौं महानगरभित्र अनधिकृत संरचना बनाइरहनुभएको त छैन ? आफू बस्ने घर नै पो मापदण्ड विपरीत सार्वजनिक स्थान ओगटेर बनाइएको छ कि ? यदि त्यसो हो भने समयमै समस्याको निदान खोजिहाल्नुस । महानगरको डोजर आएर जतिबेला पनि अबैध संरचना भत्काउन सक्छ ।

२०३८ सालदेखि सुकुम्बासीको रुपमा काठमाडौंका रानीबारीमा सुकुम्बासीका रुपमा बसोबास गर्दै आएका कुष्णबहादुर श्रेष्ठको घर काठमाडौं महानगरपलिकाले भत्कायो । आफनो घर अगाडि खोलामाथिको ढलान भत्काएपछि श्रेष्ठलाई घर आउजाउमै कठिन भएको छ ।

काठमाडौं महानगरले सामाखुशी खोलामाथिको ढलान भत्काउने कामलाई तीब्रता दिएपछि स्थानीय दैनिकी नै प्रभावित भएको गुनासो गर्छन । घरभित्र गाडी छ, बाहिर ल्याउने बाटो छैन । कुनै समय नगरपालिकाकै कर्मचारीको आड भरोसामा लागेर खोला छेउमा घर बनाउँदा यो स्थिति आएको हो । खोलामाथि ढलान बनाउन नपाउने भएपनि स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ । खोलाको बाटोलाई भौतिक संरचनाले अवरोध गर्दा बर्खामा आउने बाढी बस्तीमा पसेर उपद्रो मच्चाउन थालेपछि महानगरले सार्वजनिक सम्पति जोगाउने अभियानलाई तीब्रता दिएको हो ।

महानगरले सामाखुसी, रानीबारी लगायतका क्षेत्रको सबै ढलान हटाउने जनाएको छ । केहि दिनअघि सामाखुसीमा एक बालक खसेर बेपत्ता भएपछि खोलामाथि रहेको ढलान–स्ल्यावका कारण उद्दारमा समस्या भएको थियो । खोलामाथि संरचना बन्नुअघि यही खोलामा कन्चन पानी बगेको देख्ने एक बृद्धलाई भने खोला छोपेकोमा दुःख लागेको रहेछ । त्यसले महानगरको यो अभियानप्रति उनको समर्थन छ ।

महानगरपालिकाले खोला छोप्ने गरी बनाइका ढलान भत्काउन समयसीमा दिएपछि कतिपयले आफैं भत्काउन थालेका छन् । तर, घर जाने बाटो नै नहुँदा उनीहरुले सास्ती बेहोर्नु परेको छ ।

रानीबारीको वडा नम्बर २६ बाट सुरु यो अभियानलाई तीब्रता दिने महानगरको तयारी छ । ती भत्काइएका संरचनाबाट फलाम लिनेको मेला नै लागेको जस्तो देखिन्छ । आफनो घर अगाडिको ढलान भत्काउन थालेपछि घरधनीले फलाम बेचविखन गर्न थालेको दृश्य सर्वत्र देखिन्छ । बर्खामा जतिबेलै पनि अनियन्त्रित बाढी आउने अवस्थामा घर अगाडि खुल्ला रहँदा मानवीय सुरक्षाको प्रश्न उठेको छ भने सुख्खा समयमा खोलाको दुर्गन्धले रोगको जोखिम बढ्ने हुँदा तत्काल दीर्घकालीन उपाय खोज्न जरुरी छ । यसका लागि खोला नजिकको बस्ती सार्नेतर्फ विवेकपूर्ण निर्णय हुन जरुरी छ ।