१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उत्खननको पर्खाइमा नेपालका खानी


3.744k
Shares

काठमाडौं । नेपालमा नुनदेखि सुनसम्म खानी रहेको अन्वेषण गरिएपनि उत्खननका लागि दक्ष जनशक्ति, प्रविधि तथा प्रयोगशालाको अभाव हुँदा अपेक्षित उपलब्धी हात लाग्न सकेको छैन । भौगोलिक हिसावले उच्च हिमाली र तराई क्षेत्र नेपालमा रहेकोले खानीको प्रशस्त सम्भावना रहेको छ । अनुसन्धान, अन्वेषण र उत्खनन् खर्चिलो भएर मात्र होइन, राजनीतिक नेतृत्व भाषणप्रेमी हुँदा दीर्घकालीन विकासमा यस विषयले प्राथमिकता पाउन सकेको छैन । भूगर्भका सम्पूर्ण कामको जिम्मेवारी पाएको सरकारी निकायसमेत कार्यालयको दैनिक काममा खुम्चिन बाध्य छ ।

नेपालमा खानी अध्ययनको ठूलो सम्भाव्यता भएपनि त्यसतर्फ स्वदेशी तथा विदेशी चासो देखिएको छैन । नेपालको भौगोलीक अवस्थाको अध्यन अनुसन्धानका लागि विदेशी वैज्ञानिकहरुले चासो देखाएपनि भूकम्प र बाढी पहिरो तथा प्रकोपलगायतमा केन्द्रीत हुने गरेका छन् । फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुवी, डोलोमाइटलगायतका खानीको सम्भाव्य रहेपनि उत्खनन्का लागि उल्लेख्य काम भएका छैनन् ।

नेपाल सरकारसँग उत्खनन्का लागि लगानी, दक्ष जनशक्ती, प्रयोगशाला लगाएतको अभाव हुने र विदेशी लगानीका लागि सरकारको नीति अनुकुल नहुने हुँदा समस्या भएको हो । सरकारकै पहलमा चीन र भारतले अध्ययन अनुसन्धान तथा उत्खनन्मा चासो नदेखाएका होइनन, तर अपेक्षित उपलब्धि हात लाग्न सकेको छैन । सरकारबाट राम्रो नीति नहुँदा उत्खनन् हुन नसकेको खानी तथा भूगर्भ विभागकी प्रवक्ता मोनीका झा बताउनुहुन्छ ।

नेपालमा प्रशस्त मात्रामा खानी रहेको अन्वेषणबाट पत्ता त लागेको छ तर, प्रायजसो स्थानमा खनीज जन्य पदार्थहरुको मात्रा कम भएका कारण पनि निजीक्षेत्र उत्साही हुन नसकेको बताइन्छ । उत्खनन्का लागि पनि अरबौं लगानी हुने तर उपलब्धि न्यून भएको अवस्थामा जोखिम मोल्न लगानीकर्ता तयार नरहने अवस्था छ । त्यस्तै, बाटो, विजुली, अध्ययन तथा उत्खनन्का लागि समुदाय स्तरबाट हुने चुनौतिका कारणले जटिलता थप्ने गरेको खानी तथा भूगर्भ विभागकी प्रवक्ता झा बताउनुहुन्छ ।

खानी अध्ययन तथा सञ्चालनकै लाईसेन्स लिनेले पनि अनेक कारण देखाएर कामबाट पन्छिने गरेका छन् । नेपालमा गत आर्थिक वर्षमा खानी तथा भूगर्भ विभागले ४ सय ३२ वटा विभिन्न खानी खोजतलासका लागि लाईसेन्स प्रदान गरेको छ । जसमध्ये १ सय ५२ वटा खानी उत्खनन्का लागि अनुमती दिइएको थियो ।

२०३३ देखि आधिकारिकरुपमा स्थापना खानी तथा भूगर्भ विभागले हालसम्म ५० खानीको पहिचान गरी उत्खनन्का लागि विभिन्न कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ । उदयपुर सिमेन्ट कारखाना, हेटौंडा सिमेन्ट उद्योगलाई चाहिने चुनढुङ्गा खानी विभागले अध्ययन गरेर प्रदान गरेको चुनढुङ्गा हो । तर, दक्ष जनशक्ति, प्रविधि तथा लगानीको अभाव हुँदा थुप्रै खानी पहिचान भएपनि उत्खनन्को पर्खाईमा छन् ।