
प्यूठान । वर्षायाम सुरु भएसँगै हरेक वर्ष भालुवाङ–प्यूठान–रोल्पा सडक अवरुद्ध हुने गर्दछ ।
सडकमाथिबाट खस्ने पहिरोका कारण अवरुद्ध हुँदै आएको सडकको दीर्घकालिन समाधानको उपाय नखोजिदा नागरिकले भने सास्ती खेप्दै आएका छन् ।
गत साउन १७ गते साँझ माण्डवी गाउँपालिका– १ गर्जेनीमा सडक माथिबाट ठूलो पहिरो खस्दा चार दिनदेखि भालुबाङ, प्यूठान सडक अवरुद्ध भएको छ । यस क्षेत्रमा बारम्बार पहिरो खसेर सडक अवरुद्ध हुने गरेका कारण सवारी आवागमनमा समस्या हुदै आएको छ । गर्जेनीमा सवारी आवागमन अवरुद्ध भइरहँदा यात्रुहरुलाई समस्या भएको हो । पहिरो हटाउन नसक्दा यात्रुहरु जोखिम मोलेर भीरबाट पैदल हिँड्न बाध्य भएको यात्रु लक्ष्मण केसीको भनाई छ ।
सामान्य वर्षा तथा घाम लाग्दा पनि निरन्तर पहिरो खसिरहेकाले पहिरो पन्छाउन अप्ठ्यारो भएको छ । पहिरो पन्छाउन चार वटा मेसिन प्रयोग गरेपनि नसकिएको सडक डिभिजन कार्यालय प्यूठानले बताएको छ । निरन्तर पहिरो खसिरहँदा कहिलेसम्म सडक खुल्छ भन्ने अनिश्चित छ । तर जोखिम मोलेर भएपनि पहिरो पन्छाउने काम गरिरहेको डोजर अपरेटर खिमानन्द पौडेल बताउँछन् ।
गर्जेनीको ठूलो पहिरोले सडक अवरुद्ध हँुदा रोल्पा, प्यूठान आउने मालवाहक तथा यात्रुवाहक सवारी साधन सिमलचौरमा रोकिएका छन् । भालुवाङ–प्यूठान सडक खण्डमा खसेको पहिरो पन्छाउन समय लाग्ने तथा यस सडकखण्डका विभिन्न स्थानमा पहिरोको जोखिम रहेकाले वैकल्पिक सडक अरङखोला, मुर्कटी, घोराही सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय प्यूठानले आग्रह गरेको छ ।
अहिले पनि पहिरो हटाउने काम भइरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले भालुवाङ– प्यूठान सडकखण्ड तत्कालै सञ्चालन हुने अवस्था नभएको हुँदा आज साँझ वा भोलिसम्ममा सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको प्युठानका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्