२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इन्डोनेसियामा नेपालको मौलिक रञ्जना लिपि सहितको बौद्ध मूर्तिहरु भेटिए


19.448k
Shares

काठमाडौं । इन्डोनेसियामा नेपालको मौलिक रञ्जना र प्रचलित नेपाल लिपि सहितको बौद्ध धर्म सँग सम्बन्धित धेरै प्राचीन मूर्तिहरु पाइएको छ ।

नेपाली बौद्ध भिक्षु डा.सुगन्ध महास्थविर इन्डोनेसियाको राष्ट्रिय संग्रहालयमा अवलोकन भ्रमणमा जाँदा नेवार शैलीको बुद्ध र बौद्ध धर्मसँग सम्बन्धित अन्य मूर्तिहरुमा रञ्जना र प्रचलित नेपाल लिपि कुँदिएको पाउनुभएको हो । उहाँले मूर्तिहरुमा र शिलापत्रमा सो लिपिहरु कुँदिएको बताउनु भयो । धेरै जसो लिपि आफूले समेत पढेको उहाँले बताउनु भयो।

नेपालको मौलिक लिपि उल्लेख भएको कारण नेपाली कलाकारहरुले इन्डोनेसिया पुगेर ती मूर्तिहरु बनाएको हुन सक्ने महास्थविरले बताउनु भयो । जाभा र बोरोबुडोर लगायत इन्डोनेसियाको विभिन्न स्थानबाट संकलन गरेर ती मूर्तिहरु संग्रहालयमा राखिएको जनाइएको छ । बौद्ध विद्वान डा. केशवमान शाक्यका अनुसार १२ औं शताब्दीमा नेपाल मण्डलका कलाकार गुणभद्रले विश्व प्रसिद्ध बोरोबुडोर चैत्य बनाएको इतिहास रहेको छ ।

ती मूर्तिहरु पनि गुणभद्र वा अन्य नेपाली कलाकारहरुलेनै बनाएको हुनसक्ने उहाँको भनाई छ । मूर्तिहरुकाबारे नेपाल सरकारको ध्यानाकार्षण गर्दै शाक्यले इन्डोनेसियामा रहेको नेवार शैलीको बौद्ध मूर्तिहरुको अध्ययन अनुसन्धान हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपालको इतिहासमा नभएपनि छिमेकी राष्ट्रहरु चीन, पाकिस्तान, भुटान, भारत र अफगानिस्तान लगायतका देशहरुका इतिहासमा प्राचिनकालमा नेपाली कलाकारहरुले बौद्ध सम्पदा निमार्ण गरेको उल्लेख छ ।