तेह्रथुम । तेह्रथुमको म्याङलुकमा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चानल भएपछि म्याङलुङवासीलाई राहत भएको छ । स्थानीय खोरुङ्गा खोलाबाट लिफ्ट प्रविधिबाट पानी ल्याएपछि स्थानीयलाई सिँचाइ तथा खानेपानीमा धेरै सुविधा भएको हो ।
तेह्रथुमको म्याङलुङ नगरपालिका– १० तम्फुलामा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चानल भएपछि स्थानीय खुशी भएका छन् । केउरानी बस्तीको सुख्खा क्षेत्रमा सिँचाइका लागि स्थानीय खोरुङ्गा खोलाबाट लिफ्ट प्रविधि मार्फत पानी ल्याएपछि स्थानीयलाई सिँचाइ गर्न राहत भएको हो । उर्वर माटो भएर पनि सिँचाइको अभावमा खेती गर्न उनीहरुले वर्षौदेखि सकस भोगिरहेका थिए ।
म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकाको सिमाना भएर बग्ने खोरुङ्गा खोलाबाट यस क्षेत्रमा लिफ्ट प्रविधिमार्फत सिँचाइका लागि पानी ल्याइएको हो । खोलामा बगिरहेको पानीलाई लिफ्ट गर्न सुरुको भागमा बिजुली र अन्तिमको भागमा सौर्य उर्जा जडान गरिएको छ । प्रदेश सरकार खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालय अन्तर्गत लिफ्ट सिँचाइ सुरु भएपछि धेरै राहत भएको स्थानीय बबिता सार्कीले बताउनुभयो ।
केउरानी क्षेत्र नगरपालिकाकै अत्यन्त सुख्खाग्रस्त क्षेत्र हो । यहाँका नागरिक आफ्नै वडाको सिमाना भएर बग्ने खोरुङ्गा खोलालाई हेरेर आफ्नो जग्गा बाँझो राख्न बाध्य थिए । सिँचाइ अभाव कै कारण वर्षेनी बसाइँ सर्नेको संख्या पनि बढ्दो छ । आयोजना संचालन भएपछि यो समस्या समाधान हुने वडा अध्यक्ष खड्गवहादुर लिम्बुको भनाइ छ ।
यो आयोजनाबाट पहिलो चरणमा १ सय २४ घरलाई पानी वितरण गरिएको र बाँकी तीन दर्जन घरधुरीलाई पनि वितरण गरिने लिफ्ट जल उपभोक्ता संस्थाका अध्यक्ष फौद सुवेदीले बताउनुभयो ।
म्याङलुङ बजारबाट तरकारी किन्नुपर्ने अवस्थामा रहेका केउरानीका बासिन्दा अब तरकारी, फलफूल आफ्नै जग्गामा उत्पादन गरि बिक्री समेत गर्न सकिने भन्दै हर्षित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्