१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाटन दरवार बौद्ध विहार हो भन्ने १४ सय वर्ष पुरानो शिलालेख किन सार्वजनिक गरिदैन ?


29.575k
Shares

ललितपुर । नेपालमण्डलको एक प्राचीन वज्रयान बौद्ध धर्मको गुँला पर्व एक महिना मनाइने गरिन्छ । बौद्ध धर्मालम्बीको यो पर्व अहिले कुनै बेलाको बौद्ध विहार पाटन दरवारमा पनि मनाइएको छ । तर पाटन दरवार बौद्ध विहार हो भन्ने १४ सय वर्ष पुरानो शिलालेख अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

ललितपुरको पाटन दरवारलाई प्राचीनकालमा बौद्ध विहार भनिन्थ्यो । यही भनाईलाई प्रमाणिक रुपमा पुष्टि गर्न करीव डेढ वर्षअघि पाटन भीमसेन मन्दिर अगाडी फेला परेको १४ सय वर्ष पुरानो ऐतिहासिक शिलालेखलाई लिन सकिन्छ । सो समय लिच्छवी राजा वृषदेवले बनाएको करीव ३ सय वर्ष पुरानो बौद्ध धातु चैत्यरथको जिर्णोद्धार अंशुवर्माले गरेर त्यसको पूजा र संरक्षण गर्न कैलाशकुट भवनबाट आदेश जारी गरेको कुरा शिलालेखमा उल्लेख गरिएको थियो ।

पुरातात्विक रुपमा अत्यन्त महत्वपूर्ण सो शिलालेखले त्यस समय त्यहाँ बौद्ध विहार रहेको पुष्टि गदर्छ भने लिच्छबी कालिन बौद्ध पर्वले पनि यसलाई प्रष्ट पार्दछ । अहिले पनि निरन्तर रुपमा दरवारको सुनको मूल ढोका अगाडी पानी रहेको तामाको चारकुने भाडामा अक्ष्योभ्य बुद्धको मूर्ति राखेर गुँला पर्व मनाइन्छ । पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखे परम्पराको निरन्तरता र ऐतिहासिक प्रमाणले दरवार लिच्छवीकालमा बौद्ध विहार भएको र मध्यकालमा मात्र विहारलाई सारेर दरवार बनाएको बताउनुहुन्छ ।

गुँला पर्वमा अक्ष्योभ्य बुद्धको मूर्ति पुस्तौदेखि आफूहरुले प्रदर्शन गर्ने गरिरहेको पाटनका बाबुकाजी कपाली बताउनु हुन्छ । हाल दरवारको सुन झ्यालमा सृष्टिकान्त लोकेश्वर यथावत कायमनै छ । तर सुनको ढोकामा रहेको पञ्चबुद्ध र अन्य बौद्ध मूर्तिहरुको ठाउँमा अरुनै मूर्तिहरु राखिएको छ । सुनको ढोका राणाकालमा परिवर्तन गरिएको निमित्त कार्यकारी निर्देशक लाखेको भनाई छ ।

फेला परेको पुरातात्विक रुपमा महत्वपूर्ण शिलालेखमा के छ ? आधिकारीक रुपमा अहिले सम्म सार्वजनिक गरिएको छैन् । न शिलालेख नै सर्वसाधारणको लागि सार्वजनिक गरिएको छ । जुन विडम्बनपूर्ण रहेको छ । बौद्ध परम्परालाई कायम राखि त्यस्ता शिलालेखको वास्तविक सत्यतथ्य बाहिर ल्याउनुपर्ने धेरैको भनाई छ ।