
दाङ । झण्डै १२ हजार भन्दा बढी मुक्त कम्लहरी रहेको दाङका मुक्त कम्लहरीहरु आर्थिक आयआर्जनका लागि सामुहिक रुपमा जुट्न थालेका छन् । सहज जीवन यापनका लागि मुक्त कम्लहरीहरु पछिल्लो सयम सामुहिक धानखेतीमा लागेका हुन ।
दाङमा झण्डै १२ हजार भन्दा बढी मुक्त कम्लहरीहरु रहेका छन् । तर, कमैयाबाट मुक्त भएपनि उनीहरुलाई दैनिकी चलाउन भने धौ धौ परि रहेको छ । तुलसीपुरमा रहेको ४ सय बढि मुक्त कम्लहरीहरूले जग्गा भाडामा लिएर सामूहिक रुपमा जिल्लामा लोपोन्मुख स्थानीय जातको तिल्की धान खेती गर्न थालेकाछन् । मुक्त भएको लामो समय हुँदा पनि राज्यले आफूहरुसँग गरेको सहमती कार्यान्वय नहुँदा समस्यामा भोग्नु परेको उनीहरुको गुनासो छ ।
सरकारले मुक्त कमैया घोषणा गरेपछि उनीहरूले जिविकोपार्जनका लागि तुलसीपुर ९ का २५ जना मुक्त कम्लहरीहरूले गन्यारी कृषि सहकारी संस्था खोले । तुलसीपुर उपमहानगरपालिका भएपछि वडा नम्बर १, ३ र ५ वडा बाहेक अन्य १७ वटा वडाहरू मुक्त कम्लहरीहरू सहकारीमा आवद्ध रहेकाछन् ।
गत वर्ष सामूहिक रुपमा अर्गानिक तरकारी खेती गरेर राम्रो आम्दानी गरेपछि हौसीइएका उनीहरुले यस पटक लोपोन्मुख धानखेती सुरु गरेका छन् । बिजौरीमा रहेको पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रको सहयोगमा तुलसीपुर १८ बिजौरीमा ३५ कठ्ठा जमिन भाडामा लिएर लोप हुन लागेको तिल्की धानको खेती गरेको गन्यारी कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी चौधरीको भनाई छ ।
पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रले पनि जिल्ला कै लोपउन्मुख तिल्की धान संरक्षण गर्नु पर्छ, भन्ने उद्देश्यका साथ यो धान खेतीमा जोड दिएको थियो । मुक्त कम्लहरीहरूलाई आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उनीहरूलाई सहयोग गरिएको पर्यवरणीय दिगो विकास तथा अनुसंधान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले बताउनुभयो ।

यस्तै, तुलसीपुर १७ बनकट्टीमा करिब १० कठ्ठा जमिनमा लोपउन्मुख सिम्ठारो धानको खेती गरिएको छ । लोपोन्मुख स्थानीय जातिको अन्नबाली संरक्षण गर्नको लागि जग्गाको खोजी भइरहेको र जग्गा पाएमा त्यहाँ पनि विभिन्न किसिमको अर्गानिक खेती गरिने योजना उनीहरुको छ ।
तिल्की, सिम्ठारो जस्तो स्थानीय जातको धान किसानहरुले लगाउन छाडेका छन् । लुम्बिनी प्रदेशले पनि स्थानीय रैथान बाली संरक्षणको लागि बजेट छुट्टाएको जनाएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि कृषि क्षेत्रमा थुप्रै सुविधाहरु ल्याएको मन्त्रालयले जनाएको छ । जसले गर्दा पनि अहिले यस क्षेत्रका कृषकहरु धानखेती र अन्यबालीमा आकर्षित हुन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्