
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबारबाट सार्वजनिक सवारीका लागि छुट्टै डेडिकेटेड बस लेन सेवा सुरु गरिने भएको छ ।
हाललाई भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म सार्वजनिक सवारी साधनको लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याइसकेको छ भने लेन सञ्चालमा आएसँगै ट्राफिक जाम समेत कम हुने सरकारी विश्वास छ ।
बुधबारदेखि राजधानीमा डेडिकेटेड लेन सञ्चालमा आउने भएको छ । यसका लागि सडक विभागले काठमाडौंका सडकमा धमाधम रङ लगाइरहेको छ । यातायात ब्यवसायीहरुले भक्तपुरको सुर्यबिनायकदेखि रत्नपार्क सम्मको रुटमा डेडिकेटेड लेनमा २५ वटा बस सञ्चालन गर्ने तयारी गरेका छन् ।
यहाँ रुटमा डेडिकेटेड लेनमा चल्ने बसलाइ १९ बस बिसौनी छुट्याइएको छ । यी बस पिक एन्ड ड्रप नियम अन्तर्गत सञ्चालन हुने उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्र भट्टले बताउनुभयो । यस लेनमा तोकिएका सवारी साधनमात्र हिड्न पाउने अन्य सवारी साधनहरु हिड्न नपाउने उहाँकाे भनाइ थियाे ।

बिहान ९ बजेदेखि ११ बजेसम्म साँझ ४ बजे देखि ६ बजे सम्म चल्ने यी सवारीले एकतर्फी सडकमा पनि दुबै तर्फबाट गुड्न पाउने व्यवस्था गरिएको छ । यस लेनमा निजीलगायत अन्य सवारी गुड्न पाउने छैनन् । लागू गरिएको नियम पालनासँगै सवारी जाम कम हुने दाबी गरिएको छ । साथै सुर्यबिनायक देखि रत्नपार्क सम्म को दुरि पार गर्न डेढ घण्टासम्म लाग्ने गरेकोमा यी बस सन्चालनमा आए पछि ४५ मिनेटमा रत्नपार्क पुग्ने दाबी ट्राफिक प्रहरी प्रबक्ता भट्टको छ ।
सडक विभागका तर्फबाट दुई दिनभित्र भक्तपुरको सुर्यविनायक देखि काठमाडौंको रत्नपार्कसम्म रंग पोतेर सक्ने गरी पाँच वटा मसिनले धमाधम रङ लगाउने काम भैरेको छ । कार्यालय समयमा यस लेनमा डेडिकेटेड बाहेक अन्य सवारी गुडे कारबाही हुने उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्