
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठनको ८ महिना पुग्न लाग्दा समेत देखिनेगरी कुनै काम हुन नसकेको भन्दै सरकारको आलोचना बढेको छ । सरकारका उपलब्धि बारे प्रश्न उठाउँदै सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले चर्को विरोध जनाइरहेका बेला प्रतिपक्षी प्रदेशसभा सदस्यहरुले सरकार भागबण्डा र स्वार्थमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन् ।
नेकपा एमालेको नेतृत्वमा बनेको गठबन्धन भत्काएर कांग्रेस नेतृत्वमा गठन भएको सुदूरपश्चिम सरकारलाई करिब ८ महिना पुग्नै लागेको छ । माघ २७ गते दुई मन्त्रीसहित पद तथा गोपनियताको शपथ लिएका मुख्यमन्त्री कमल बहादुर शाहले पदभार ग्रहण गरेको ८ महिना पुग्न लाग्दा पनि देखिने गरी कुनै काम हुन नसकेको भन्दै प्रदेशसभा सदस्यहरुले चर्को विरोध जनाएका छन् ।
गठबन्धनमै रहेका दलका प्रदेशसभा सदस्यहरुले समेत सरकारको चर्को आलोचना गरेका हुन् । नयाँ गठबन्धन सरकार बनेसँगै जुन गतिमा सरकार अगाडि बढ्नुपर्ने हो त्यो गतिमा नबढेको सत्तापक्षकै सांसदहरुको आरोप छ ।
विपक्षी दलका प्रदेशसभा सदस्यहरुले भने सरकार मस्त निद्रामा रहेको टिप्पणी गरेका छन् । जनताका गुनासै गुनासा बढिरहेका बेला सरकारले जनताका कुनै गुनासो सुन्न नचाहेको उनीहरुले आरोप लगाएका छन् । सरकार आफ्ना काममा भन्दापनि सेवा सुविधा थप्न तर्फ केन्द्रित बनेको विपक्षी दलको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सरकारले सरकार गठनसँगै पुरानो सरकारको बजेटमा काम गर्दा उपलब्धि नदेखिएको दावी गर्दै नयाँ बजेट कार्यान्वयन नहुँदै समीक्षा गर्नु हतार हुने बताएको छ । हाल बजेट कार्यान्वयनका लागि सबै मन्त्रालयहरु गृहकार्यमा रहेकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमै केही उपलब्धि देखिने सरकारको दाबी छ ।
मुख्यमन्त्री कमल बहादूर शाहको नेतृत्वमा गत वर्ष माघ २७ गते सरकार गठन भएको थियो । त्यसपछि बजेट ल्याउने र पास गर्ने बाहेक अन्य उपलब्धि देखिन सकेका छैनन् । नयाँ र युवा क्याबिनेटले पक्कै पनि विगतभन्दा राम्रो गर्ने अपेक्षामा रहेका प्रदेशबासीले कुनै उपलब्धि नदेखेपछि जुन जोगी आएपनि कानै चिरेको उखानको संज्ञा दिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्