
काठमाडौं । सधै जसो भिडभाड हुने काठमाडौं सुनसान देखिएको छ । दशैंका लागि उपत्यकाबाट गाउँ फर्किनेहरू बढेसँगै दशैंको समयमा काठमाडौं सुनसान देखिएको हो । सवारीको चाप र आवतजावत पातलो हुँदा वातावरण शान्त देखिएको छ ।
दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने क्रम सुरु भएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटस्थापना देखि फूलपातिका दिनसम्म उपत्यका बाट ५८ हजार २ सय ८० सवारी साधन र ३ लाख १० हजार ६ सय ७५ यात्रु भित्रिएको जनाएको छ । त्यस्तै, गरी ७९ हजार ८ सय ६२ सवारी साधन र ५ लाख ८० हजार ६ सय ९४ यात्रुहरु बाहिरिएका जनाएको छ । दशैं मनाउन काठमाडौंबाट आ–आफ्नो गाउँ घर जाने भएको कारण काठमाडौंको जनघन्त्व कम भएको हुनाले काठमाडौंमा सवारी साधनको चहल पहल कम भएर वातावरण शान्त भएको नवराज परियार बताउनुुहुन्छ । काठमाडौंमा क्षमता भन्दा बढी नागरिक बसोवास भएको रहेछ भन्न दशैंमा महशुस हुने सविना ज्ञवाली बताउनुहुन्छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौं उपत्यकाबाट बाहिरिने गरेको देखाएको छ । फूलपातीको दिन पनि उपत्यकाबाट बाहिरिनेको संख्या उल्लेख्य थियो । बिहानैदेखि बाहिरिनेहरूका कारण काठमाडौंका विभिन्न नाकामा सवारी साधनको लामो लाइन लागेको कारण नाकामा ट्राफिक जाम हुने गरेको छ । सरकारी कार्यालय, स्कुल, कलेज लगाएत निजि कम्पनीहरु पनि बिदा भएको कारण उपत्यका भित्रका सडकमा ट्राफिक चाप निकै कम भएको छ भने सडकमा पैदल यात्रुहरु पनि नगन्य रुपमा देख्न पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्