२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


यस वर्षको दशैंमा सवारी दुर्घटनामा कमी


663
Shares

काठमाडौं । यस वर्षको बडादशैंको समयमा विगतको तुलनामा सवारी दुर्घटना र अपराधका घटनामा कमी आएको पाइएको छ । नेपाल प्रहरीले कार्यान्वयनमा ल्याएको चाडपर्व विशेष सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन र सम्बन्धित पक्षको सजगताका कारण यस्तो नतिजा आएको प्रहरीको विश्लेषण छ ।

ठूला चाडपर्वको समयमा सडक दुर्घटना अत्यधिक हुने र चोरीलगायतका अपराधिक घटनामा पनि बढोत्तरी हुने आमप्रवृत्ति नै हो । यसलाई रोक्न विगतमा झैं यस वर्ष पनि उपत्यका प्रहरी कार्यालयले गत असोज २१ गते देखि चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको थियो । यस योजनाअन्तर्गत काठमाडौं उपत्यकामा ठूलो संख्यामा नेपाल प्रहरी लगायतका सुरक्षाकर्मी परिचालन गरिएको थियो । यो समयमा १८ सयको सख्यामा ट्राफिक प्रहरीहरु परिचालित भएका थिए ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा भन्दा चालू आर्थिक वर्ष २०८०/८१ मा दुर्घटनामा निकै कमी आएको छ । गत वर्षको दशैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने यस वर्ष ३ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता भट्ट बताउनुहुन्छ ।

काठमाडांै उपत्यका ट्राफिक कार्यालयको तथ्यांक अनुसार चालु दशैंमा ट्राफिक प्रहरिले ६२ स्थानमा चेकप्वाइन्ट राखेको थियो । प्रहरीको अभिलेख अनुसार यस अवधिमा ३ सय ४३ वटा दुर्घटनामा २ सय ९८ जना घाइते भएका छन् भने ३ जनाको मृत्यु भएको छ । यस अवधिमा ट्राफिक कारवाहीमा पर्ने सबैभन्दा बढी मादक पदार्थ सेवन गरी सवारी चलाउने रहेका छन् । उनीहरुको संख्या १ हजार २ सय ६१ छ । त्यस्तै, लागू पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना कारवाहीमा परेका छन् । यस्तै, तिब्रगतिमा सवारी साधन चलाउने ४ हजार ८२ जना, क्षमता भन्दा बढी यात्रु चढाउने ८ सय १७ र बढी भाडा असुल्ने १४ जनालाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता भट्ट बताउनुहुन्छ ।

गत वर्षको तुलनामा दुर्घटनामा कमी आएको देखिए पनि यसलाई सन्तोषजनका मान्न सकिन्न । यो संख्यालाई सकेसम्म शून्यमा झार्न र त्यस्तो संभव नभएपनि अधिक संख्यामा कमी ल्याउन सडक प्रयोग गर्ने चार पाङ्ग्रे, दुई पाङ्ग्रे चालकका साथै पैदल यात्रुहरु नै सचेत हुन पर्ने ट्राफिक प्रहरीको भनाइ छ ।