२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


लथालिङ्ग सडकको निर्माण कार्यले गति लिने आशा


1.17k
Shares

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसापानी पञ्चमीसम्म जोड्ने दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) तीन दशकसम्म विजोग अवस्थामा छ । बुधबार इलामका सरोकारवाला राजनीतिक दल, निर्माण व्यावसायी र स्थानीयबीच भएको छलफलमा निर्माण व्यवसायीले तुरुन्त काम थाल्ने प्रतिवद्धता जनाएसँगै सडक निर्माणले गति लिने आशा स्थानीयमा पलाएको छ ।

निर्माण शुरु भएको तीन दशकसम्म पनि कच्ची अवस्थामै रहेको ३३ किलोमिटर दुरीको फाल्गुनन्द सडक कालोपत्रेका लागि ठेक्का लागेको ५ वर्ष बितिसकेको छ । ठेक्काको म्याद पटकपटक थपिँदा समेत काम हुन नसक्दा स्थानीय निराश बन्दै आएका छन् । अब भने सडक निर्माणले गति लिने आशा स्थानीयमा पलाएको छ । सडक कालोपत्रे गर्ने ठेक्का लिएका निर्माण व्यावसायीले बीचैमा छाडेर लथालिङ्ग बनाएपछि यो सडकको भविष्य अन्यौलमा परेको थियो ।

बुधबार जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित, राजनीतिक दल, सुरुक्षा निकाय, सञ्चारकर्मी, सडक डिभिजन कार्यालय दमक, निर्माण व्यवसायी र माङसेबुङ गाउँपालिकाले संयुक्त रुपमा निर्माणाधीन सडकको अनुगमन गरेका छन । सडक अनुगमनपछि सोही सडकखण्डमा पर्ने माङमालुङ बजारमा भएको छलफलमा निर्माण व्यवसायीहरुले तुरुन्त काम सुरु गरी चाँडो काम सक्ने प्रतिवद्धता जनाएपछि सडक बन्नेमा स्थानीयमा आशा पलाएको हो ।

छलफलमा तल्लो खण्डको निर्माण व्यवसायी (महालक्ष्मी–किरातेश्वर जेभी) ले तत्काल काम सुरु गरेर आउँदो बैशाखसम्ममा काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै मााथिल्लो दुई खण्डको निर्माणको जिम्मा लिएको लुम्बिनी–गणपति जेभीले अर्को पुस सम्ममा काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । छलफलमा केही प्राविधिक र कानुनी विषयहरु समस्याका रुपमा उठान भएकाले त्यसलाई सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयमा पठाएर समाधान गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

पहिलो खण्डअन्तरगत दमकको पहिलो बिन्दुबाट सात किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी २०७५ साल साउनमा सम्झौता गरेको थियो । रु २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिएर सो निर्माण कम्पनीले काम अलपत्र छाडेको हो । यस्तै दोस्रो खण्ड १५ किलोमिटर सडक रु ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड ११ किलोमिटर सडक रु ५९ करोड १५ लाख ३५ हजारमा निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो । दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा २८ प्रतिशत काम भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर सुधिर कुमार झाले जानकारी दिनुभयो । समग्रमा ३३ किलोमिटर सडकमा ५० प्रतिशत मात्र काम भएको उहाँले बताउनुभयो ।

सडक निर्माण सुरु भएको तीन दशक बितिसक्दा समेत सडक निर्माणको काम सम्पन्न नहुँदा स्थानीयले चर्को विरोध जनाउँदै आएका छन् । यस बीचमा रतुवा खोलैखोला कुदाउनुपर्ने सवारी साधन सडकको ट्रयाकमा कुदाउने बाहेक अरु कुनै प्रगति सडकको स्तरोन्नतीमा भएको छैन ।