७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एक वर्षपछि बल्ल उखु किसानले पाए अनुदान रकम


377
Shares

सर्लाही । सर्लाहीका उखु किसानले एक वर्षपछि बल्ल अनुदानको रकम प्राप्त गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार प्रत्येक उखु किसानको खातामा अनुदानको रकम पुगेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले गएको बिहीबार बैङ्क तथा वित्तीय संस्थाहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गरेको थियो । बैङ्कहरुले किसानको खातामा पैसा जम्मा गरिदिएको उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीले बताउनुभयो । किसानले आन्दोलन गरेपछि सरकारले अनुदान रकम पठाएको मैनालीको भनाइ छ ।

गएको वर्ष उखुको मूल्य प्रतिक्वीन्टल ६१० रुपियाँ तय गर्दा उद्योगीले ५४० रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने निर्णय भएको थियो । सर्लाहीका उखु किसानका लागि वितरण गर्न २९ करोड २५ लाख ५२ हजार ७४९ रुपियाँ ३० पैसा निकासा हुनुपर्नेमा सरकारले दशैँअघि ११ करोड २६ हजार ६३८ रुपियाँ मात्रै निकासा गर्‍यो । अधुरो रकम निकासा भएर आएपछि तिहारअघि किसानलाई ३० प्रतिशतका दरले अर्थात् ७० रुपियाँमध्ये २१ रुपियाँका दरले भुक्तानी दिइएको थियो ।

सरकारले भर्खरै बाँकी अनुदान रकम पठाएपछि किसानको बक्यौता रहेको ४९ रुपियाँ प्रत्येक किसानको खातामा पठाइएको हो । सर्लाहीका प्रमुख कोष नियन्त्रक निर्मल न्यौपानेले गएको बिहीबार प्रत्येक बैङ्क एवं वित्तीय संस्थाहरुलाई चेक हस्तान्तरण गर्दा तत्कालै किसानको खातामा रकम हालिदिन निर्देशन दिइएको बताउनुभयो । उहाँले किसानलाई आफ्नो अनुदान रकम आउने बैङ्कमा गएर रकम आए नआएको बुझ्न आग्रह गर्नुभएको छ ।

सरकारले यस वर्षका लागि केही साताअघि उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ निर्धारण गरिसकेको छ । उद्योगीले ५६५ रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने उल्लेख छ ।

उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीले यो वर्ष मधेश प्रदेश सरकारले समेत प्रतिक्विन्टल १० रुपियाँ थप अनुदान रकम दिने घोषणा गरेकाले सो अनुदान रकमका लागि पनि पहल जारी राखिएको जानकारी दिनुभयो ।