
काठमाडौं । दिन प्रतिदिन बढ्दो साइबर अपराधले प्रहरी समेत हायलकायल छ । साइबर ब्यूरोमा आउने उजुरीमध्ये ८० प्रतिशत सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धि रहने गरेका छन् । यस्ता गतिविधिबाट पीडित हुनेमा २५ देखि ३५ वर्ष उमेर भित्रका किशोरी र महिलाहरु रहेका छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा १० हजार बढी साइबर अपराध सम्बब्धी उजुरी ब्यूरोमा दर्ता भएका छन् । ब्यूरोका प्रवक्ता पशुपती कुमार रायका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा अकाउन्ट ह्याक सम्बन्धी ५ हजार २ सय ८८ वटा उजुरी परेका छन् भने नक्कली अकाउण्टबाट दुख दिएको १ हजार ५१ वटा उजुरी रहेका छन् । यस्तै, सामाजिक सञ्जालमार्फत भएका आर्थिक अपराधका १५ सय ४५ वटा उजुरी परेका छन् । ब्यूरोले ४५ वटा अपराधमा मुद्दा अघि बढाएको छ ।
उजुरीको विश्लेषण गर्दा २५ देखि ३५ बर्ष उमेर समूहका मानिसहरु साइबर अपराधमा बढी सक्रिय रहेको पाइएको छ । यस्तै, अरुलाई प्रलोभन तथा प्रभावमा पार्न सक्ने व्यक्ति वा समूहहरु यस्ता आपराधिक कृयाकलापमा संलग्न पाइएको प्रवक्ता रायले बताउनुभयो ।
साइबर अपराध इन्टरनेटको माध्यमबाट हुने भएकाले संसारका जुनसुकै स्थानबाट हुन सक्दछ । त्यसमाथि सामजिक सञ्जालहरुका मुख्य कार्यालय पनि विदेशमा विदेशीहरुकै नियन्त्रणमा रहने भएकाले उजुरीहरुमाथिको अनुसन्धान गर्न पनि समस्या हुने गरेको प्रवक्ता रायको भनाइ छ ।
सामाजिक सञ्जालहरुको बढ्दो प्रयोग र प्रभावको यो समयमा साइबर अपराधलाई निमिट्यान्न पार्न संभव हुँदैन । इन्टरनेटमार्फत हुने ठगीदेखि साइबर अपराधका सबैखाले घटनालाई न्युनिकरण मात्रै गर्न सकिन्छ । त्यसका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु स्वयं सचेत हुनु जरुरी छ भने साइबर अपराध सम्बन्धि जनचेतना जगाउनु पनि उत्तिकै जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्