
काठमाडौं । पाँच सय वर्षको प्रतिक्षापछि राम जन्मभूमि अयोध्यामा राम मन्दिर निर्माण गरी भगवान श्रीरामको बालस्वरुप मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । रामको जन्मभूमिमा मस्जिद निर्माणको पाँच सय वर्षपछि पुनः राममन्दिर निर्माण गरी उक्त मन्दिरमा भगवान श्रीराम विराजमान हुँदा भारत मात्र नभई विश्वभरका हिन्दु धर्माबलम्बीहरुले यो ऐतिहासिक दिनको खुलेर स्वागत गरेका छन् ।
हजारौं विदेशी पाहुना र लाखौं भक्तजनहरुको उपस्थितिमा भारतको उत्तर प्रदेशको अयोध्यामा निर्मित भव्य राममन्दिरमा भगवान श्रीरामको बालस्वरुप मूर्तिको प्राण प्रतिष्ठा गरियो ।
बाजागाजा अनि झाँकीसहित आयोजना गरिएको यो महोत्सवका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित १५ जनाको उपस्थितिमा पुजारीहरुले विधिपूर्वक गरेको प्राण प्रतिष्ठाको दृश्यलाई अभुतपुर्व रुपमा व्याख्या गरिएको छ । प्राण प्रतिष्ठा अघि राममन्दिरको उद्घाटन गरिनुका साथै शुरुमा भारतीय प्रधानमन्त्री मोदीले भगवान रामको आरती उतारेपछि पुजारीहरुले बैदिक मन्त्रोचरण गरेकोे यो महोत्सवमा भारतीय सेनाको हेलिकप्टरले पुष्पबृष्टी समेत गरेको थियो । यो महोत्सवमा सामेल हुन अध्योध्या जान नपाएका भारतीयहरुले घर घरमा दिपोत्सव गरी प्राण प्रतिष्ठाको स्वागत गरेका थिए ।
विश्वकै ध्यान केन्द्रित भएको यस महोत्सवको अवसरमा विश्वका थुप्रै राष्ट्रहरुमा समेत उत्सव मनाइएको छ । अमेरिकाको न्युयोर्कस्थित टाइम्स स्वाक्यरमा रामको मूर्ति सहित र्यालीको आयोजना गरियो भने मिनेसोटामा राम भजन गाउँदै हिन्दु धर्माबलम्बीहरुले खुशियाली मनाए । यस्तै, थाइल्याण्ड, इन्डोनेशिया, म्यानमार र मलेसियामा पनि रामलिला भव्य रुपमा मनाइयो ।
नेपालमा पनि यो उत्सव भब्यताका साथ मनाइएको छ । माता जानकीको जन्मभूमि जनकपुर र आसपासका क्षेत्रलाई केही दिनदेखि सिंगारिएको थियो भने दैनिक पूजा आरतीसहित भब्य तयारी र व्यग्र प्रतिक्षा गरिएको थियो । प्राण प्रतिष्ठाका निम्ति जनकपुर धामबाट लावा लस्कर र उपहार अयोध्या लगिएको थियो ।
महिनौंको तयारी पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको प्राण प्रतिष्ठाका लागि राममन्दिर दुलही झैं सिंगारिएको थियो । मन्दिर उद्घाटन र प्राण प्रतिष्ठामा निष्ठापूर्वक सहभागी भएका प्रधानमन्त्री मोदीले लगत्तै आयोजित सभामा शब्द र भावमार्फत प्रशन्नता व्यक्त गर्नुभएको थियो ।
सन् १५२८ मा मुगल सम्राट् बाबरले राम जन्मभूमि अयोध्यामा मस्जिद निर्माण गरेपछि इतिहासको गर्तमा पुगेको राम मन्दिरलाई पुनः सतहमा ल्याउन सदियौंको संघर्ष र सयौंको बलिदान भएको छ । लामो विवाद र हिंसात्मक घटनाका बाबजुद मन्दिर निर्माणको अभियान चलिरहेकै परिवेशमा भारतको सर्वोच्च अदालतले मन्दिर निर्माणको ढोका खोलिदिएको थियो । अदालतको आदेशपछि सन् २०२० देखि निर्माण थालिएको यस राममन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगे पनि सम्पुर्ण रुपमा सम्पन्न हुन बाँकी छ । मन्दिर पूर्णरुपमा निर्माण नभई प्राण प्रतिष्ठा गर्न लागेको भन्दै भारतकै विपक्षी दलहरुले बहिष्कार गरेको भए पनि प्राण प्रतिष्ठामा हजारौं सन्त महन्तसहित देशका गन्यमान्य व्यक्तित्व, कलाकार र धनाढ्यहरुको बाक्लो उपस्थिति रह्यो ।
ऐतिहासिक अवसरमा सरिक हुनका लागि ८० वटा चार्टर उडान हुँदा भारतीय विमानस्थलहरु पुरै व्यस्त भए । अयोध्या पुगेका हरेक व्यक्तिले भगवान रामका नाममा उपहार लग्दा राम मन्दिर उपहार नै उपहारले भरिएको थियो । चार करोड भारतीयहरुले स्वेच्छाले प्रदान गरेको सय करोड भन्दा बढी रकमबाट बनाइएको यो मन्दिर संपूर्ण रुपमा तयार हुन भने केही समय लाग्ने छ । निकै नै आर्कषक शैलीमा निर्माण भइरहेको यस मन्दिरमा ४४ वटा द्वार रहेका छन् भने जताबाट प्रवेश गरे पनि एउटै आकृती देखिने छ ।
प्रतिक्रिया दिनुहोस्