२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


मच्छेनारायण मन्दिर परिसरका पुरातात्विक अभिलेखहरु नष्ट हुँदै


1.56k
Shares

काठमाडौं । कीर्तिपुरको मच्छेगाउँ काठमाडौं उपत्यकाको प्राचिन बस्ति हो । गोपाल वंशकालमा नै मानव सभ्यताको विकास भएको यस स्थानमा गोपालीहरुको बसोबास रहँदै आएको छ । त्यसैले विभिन्न कालखण्डका पुरातात्विक महत्वका सामग्रीहरु यहाँ भेट्ने गरिन्छ । तर, विडम्वना, यस ठाउँमा रहेका लिच्छवीकालीनलगायतका अभिलेखहरु नष्ट भएर भग्नावशेषमा परिणत हुँदा पनि कसैको ध्यान गएको छैन ।

गाईपालक गोपाल वंशकालदेखि मानव सभ्यता विकासको एक प्राचिन बस्ती हो, मच्छेगाउँ । विभिन्न काल खण्डमा विकसित यो गाउँ नरहरिपुर र मीनतिर्थ नामले पनि प्रसिद्ध छ । हाल धार्मिक रुपमा यहाँ रहेको मच्छेनारायण मन्दिर र चैत्य भित्र अर्को चैत्य रहेको बौद्ध चैत्यका कारण मच्छे गाउँ प्रसिद्ध छ । यहाँ लिच्छवीकाल देखिका पुरातात्विक महत्वका अभिलेखहरु रहेका छन् । तर, विडम्वना यी अभिलेखहरुको उचित संरक्षण हुन नसक्दा नष्ट भएर भग्नावशेषमा परिणत भएका छन् ।

यस्तो विकराल अवस्था हँुदा पनि अभिलेखहरुको संरक्षणमा कसैको चासो गएको पाइँदैन । लिच्छवीकालीन अभिलेख यस्तो लथालिंग अवस्थामा छ । पुरातात्विक रुपमा अत्यन्त महत्वपूर्ण यस शिलालेखमा कुँदिएको लिपि लगभग मेटिएर नबुझिने भईसकेको छ । मच्छेनारायण मन्दिरका पूजारी शैलेश आचार्य अभिलेखको संरक्षण हुन नसकेको स्वीकार्नुहुन्छ ।

मच्छेनारायण मन्दिर भित्र रहेको एउटा ढुंगामा नेपाल संम्वत ७९७ लेखिएको छ । यस हिसाबले यो मन्दिर कम्तिमा ३ सय ४७ वर्ष पुरानो हो भन्ने पुष्टि हुन्छ । तर, मन्दिरको पछाडि रहेको मल्लकालिन अभिलेख भने नष्ट गरिएको छ । यो पनि विगतमा कुनै काल खण्डमा नष्ट गरिएको हुन सक्ने पुजारी आचार्यको भनाइ छ ।

तिन वटा कुण्ड रहेको यस मन्दिरको पोखरी र लिच्छवीकालिन हितिहरुमा वर्षायाममा पानी नआउने र हिउँदको सुख्खा याममा पानी आउने अनौठो प्राकृतिक नियम छ । यहाँ लिच्छवीकालदेखि शाहकालसम्मका विभिन्न देवी देवताको मूति र अभिलेखहरु छन् । यस मन्दिरमा मलमासमा दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गर्दछ । तर, यसको उचित संरक्षण र प्रचार पसार गर्ने हो भने यहाँ बाहै्रमास भक्तजनहरुलाई तान्न सकिने संभावना छ । त्यसो त गोपाल वंशदेखिको मानव वस्ती रहेको यो स्थान पनि अनियन्त्रित आधुनिक विकासबाट अछुतो रहन सकेको छैन ।