३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


कीर्तिपुरको ऐतिहासिक भाजंगल मसानघाट संकटमा


3.276k
Shares

काठमाडौं । विशिष्ट नगर सभ्यताको अगंको रुपमा रहेको कीर्तिपुरको मसानघाटले मौलिक पहिचान बोकेको छ । तर तान्त्रिक साधना, धार्मिक र साँस्कृतिक रुपमा अत्यन्त महत्वपूर्ण रहेको यो ऐतिहासिक भाजंगल मसानघाट आधुनिक विकासको नाममा संकटमा पर्दे गएको छ ।

भनिन्छ, मान्छेले जाँदाजाँदै यस धर्तीमा पाउने ६ गज जमिन हो । तर अन्तिम संस्कारका लागि प्रयोग गरिने त्यही जमिन पनि प्लटिङ र अनियन्त्रित शहरी विकासका कारण नष्ट हुने क्रम बढ्दो छ । मृत्यु संस्कारसँग प्रत्यक्ष जोडिएको कीर्तिपुरको प्राचिन मसानघाट अहिले अस्तित्वको संकटमा पुगेको छ ।

विष्णुदेवी शक्ति पीठको ऐतिहासिक भाजंगल चिहान विशिष्ट पहिचान बोकेको मसानघाट हो । यहाँ नौ कप्टेरा दाउरामाथि राखेर मात्र अन्तिम संस्कार गर्ने अनौठो परम्परा रहेको छ । कारण यो मसानघाटमा नौ कप्टेरा दाउरामाथि राखेर शवलाई दागबत्ती दिएपछि शव पूर्ण रुपमा जलेर खरानी हुने गर्दछ । स्थानीयले यसलाई दैवी शक्तिको परिणामको रुपमा लिने गर्दै आएका छन् ।

यद्यपी घाटमुनि प्राकृतिक ग्यासको भण्डार रहेका कारण शव जलेर नष्ट हुने गरेको मानिन्छ । तर हालसम्म यस स्थलको भौर्गभिक अनुुसन्धान भने हुन सकेको छैन् । मात्र साँस्कृतिक रुपमा स्थानीयसँग जोडिएको छ । विष्णुदेवी चिहान संरक्षण संघर्ष समितिका संयोजक नजरराम महर्जनले यो घाट पांगालीवासीको जीवनको अभिन्न अगं भएको र तान्त्रिक साधकहरुका लागि महत्वपूर्ण स्थल भएको बताउनुभयो ।

तर विडम्बना यस्तो महत्वपूर्ण घाट पनि अहिले अस्तित्वको संकटमा पुगेको छ । खेतीयोग्य जमिनमा बाटो पु¥याएर बस्ती विस्तार गर्न घाटसँगै रहेको खोला माटोले पुर्ने काम भएको छ भने खोला पुरेर बाटो बनाउँदा मन्दिर र घाट मात्र होइन स्थानीय मौलिक परम्परा नै समाप्त हुने अवस्था आएको छ । घाट जोगाउन स्थानीय एकजूट बनेपछि कीर्तिपुर नगरपालिकाले तत्काललाई काम रोके पनि उनीहरु विश्वस्त भने हुन सकेका छैनन् ।

पछिल्लो समय मौलाएको डोजरे विकासले अन्तिम संस्कारका लागि प्रयोग हुने घाटसमेत मासेर कस्तो सभ्यता निर्माण गर्न खोजेको हो भन्ने प्रश्न यहाँको अवस्थाले देखाउँछ ? आखिर मरेर लैजानु नै के छ र ? भन्ने मान्यतालाई पनि समेत चुनौति दिन र युगौंदेखि चल्दै आएको अनौठो परम्परा मासेर आधुनिकताको नारा लगाउनुको कुनै अर्थ होला र ?