
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्र हिउँले ढाकिएको छ । वर्षासँगै हिमपात भएपछि तीन हजार ७ सय ९४ मिटरको उचाईमा रहेको मन्दिर क्षेत्र हिउँले ढाकिएको हो । पाथीभरा दर्शनका लागि जाने भक्तजनहरुले आध्यात्मिक शक्तिसँगै प्राकृतिक सौन्दर्यको स्वाद पनि लिने मौका पाएका छन् ।
वर्षासँगै गत बुधबार साँझदेखि बिहीबार दिउँसोसम्म परेको हिउँले पाथीभरा मन्दिर क्षेत्र सेताम्मे बनेको छ । लामो समयसम्म हिउँ नपर्दा उराठ लाग्दा देखिएका हिमश्रंखलाहरु पनि अहिले चाँदी झैँ टल्किएका छन् । हुन त अरु बेला पनि पाथीभरा जाने दर्शनार्थीले प्राकृतिक सौन्दर्यको भरपुर स्वाद लिन पाउँछन् । तर यति बेला भने हिउँले ढाकिएकाले दर्शनार्थीले छुट्टै अनुभव पनि लिने मौका पाएका छन् ।
बिहीबारदेखि नै पाथीभरा पुग्ने दर्शनार्थीले मन्दिरको दर्शनपछि अधिकांस समय हिउँ खेल्ने र भिडियो खिच्ने तथा तस्बिर लिनमा खर्चिएका छन् । हिउँको दृष्यावलोकन गर्न केटाकेटीदेखि वृद्धवृद्धाहरु समेत पाथीभरामा पुगेका छन् ।
पछिल्लो समय स्वदेश तथा विदेशबाट दर्शनार्थीको आगमन बढ्दै गएपछि दर्शनार्थीको सुविधाका लागि पाथीभरा क्षेत्र विकास समितिले मन्दिर क्षेत्रमै सम्पुर्ण ध्यान केन्द्रित गरेको छ । तीर्थयात्रीको सहजताका लागि पाथीभरा क्षेत्रमा रहेका होटल व्यवसायी, कर्मचारी लगायतसँग शुक्रबार छलफल समेत गरिएको छ ।
पाथीभरा मन्दिरमा वार्षिक स्वदेशी तथा विदेशी गरी लाखौँको संख्यामा तीर्थयात्री आउने गरेका छन् । धार्मिक हिसाबले महत्पुर्ण पाथीभरा प्राकृतिक सुन्दरताले समेत भरिपुर्ण भएकाले यस क्षेत्रलाई थप व्यवस्थित बनाउन सके ताप्लेजुङको मात्र नभई मुलुककै पर्यटन विकास र अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ ।










प्रतिक्रिया दिनुहोस्