
सर्लाही । सर्लाहीका माछापालक किसानले सडकमा माछा फ्याँकेर प्रदर्शन गरेका छन् । माछापालनमा प्रयोग भएको बिजुलीको मिटलाई कृषि मिटर अन्तर्गत राखेर सहुलियत विद्युत् दर कायम गर्न माग गर्दै किसानले सडकमै माछा फ्याँकेर राजमार्ग बन्द गरेका हुन् ।
यसअघि कृषि मिटर अन्तर्गत बिजुलीको महशुल बुझाउँदै आएका माछापालक किसान अहिले उद्योग अन्तर्गत महँगो विद्युत महशुल बुझाउनुपर्दा मारमा परेका छन् । एक त भारतबाट अवैध ढंगले भारतीय माछा भित्रिँदा यहाँका किसानले उत्पादन गरेको माछाले बजार पाइरहेको छैन । त्यसैमाथि बिजुली महशुल बढाएर अन्याय गरिएको माछापालक किसानको गुनासो गरेका छन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिका माछापालनको पकेट क्षेत्र हो । माछा पालेको पोखरीमा २४ घण्टा मोटर चलाउनुपर्ने हुन्छ । नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर त्रिभुवन यादव प्राधिकरणको नियमावलीमा माछापालन कृषि अन्तर्गत नपर्ने बताउनुहुन्छ । कृषि मिटरको प्रतियुनिट २ रुपैयाँ २५ पैसा लिइरहे पनि माछापालनलाई ग्राहस्थ अन्तर्गत राखेर सामान्य ग्राहकले बुझाउने महशुल सरह नै विद्युत महशुल लिने गरिएको उहाँले बताउनुभयो ।
ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य प्राधिकरणको नीतिले आफ्नै गाउँठाउँमा व्यवसाय गरौँ भन्ने किसानलाई हतोत्साहित गर्ने भएकाले तत्काल नियमावली सच्याएर किसानको माग सम्वोधन गर्नुपर्ने बताउनुहुन्छ ।
माछामासुमा आत्मनिर्भर बन्ने उद्देश्य लिएको सरकारले माछापालक किसानले उठाएको यो मागको तत्काल सम्बोधन गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्