
सर्लाही । सर्लाहीको बागमती र बरहथवा नगरपालिकाका किसान मकैमा दाना नलाग्दा मारमा परेका छन् । मकै जोन अन्तर्गत पर्ने यी दुई पालिकाका धेरैजसो किसानले भारतीय बीउ उत्पादक कम्पनि नुजिभिडु सिड्सले उत्पादन गरेको ८३५२ जातको हाइब्रिड मकै रोपेका थिए ।
यस क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोत मकै खेती हो । तर यो वर्ष मकैमा दाना नै लागेको छैन । गाउँकै सहकारी र विभिन्न एग्रोभेट पसलबाट मकैको बिउ ल्याएर रोपेका किसान अहिले दाना नै नभएको थोते घोगा लागेपछि मारमा परेका हुन् । बागमती नगरपालिका–५, सोल्टीका किसान बिमल बस्नेतले गत वर्ष तीन लाख रुपैयाँको मकै फलेपनि यो वर्ष त्यही मकै लगाउँदा दाना नै नलागेको गुनासो गर्नुभयो ।
मकैमा दाना नलागेपछि किसान के–गरी घरव्यवहार चलाउने भन्ने तनावमा परेका छन् । मकै किसान समेत रहनुभएका बागमती नगरपालिका १० शंकरपुरका वडाध्यक्ष शेष जुगैरले आफ्नो डेढ बिघामा लगाएको ८३५२ जातको मकैमा दाना नलागेको बताउनुभयो । आफूले वर्षेनि दुई जातको मकै लगाउने गरेकोमा यो वर्ष एक बिघामा १२५५ र डेढ बिघामा ८३५२ जातको मकै लगाएकोमा ८३५२ जातको मकैमा दाना नलागेको उहाँले बताउनुभयो ।
केही किसानले ढिलो गरी रोपेको यही जातको मकैमा भने राम्रोसँग दाना लागेको पाइएको छ । बागमती नगरपालिका–८, सोल्टीका किसान कृष्णदेव महतोले आफूले छठको १० दिनपछि रोपेको मकैमा राम्रोसँग दाना लागेको बताउनुभयो ।
बागमती र बरहथवाका अधिकांश किसानले कात्तिक मध्य तथा अन्तिमतिर मकै रोपेका थिए । कात्तिकमै रोपिएको मकैमा दाना नलाग्ने समस्या धेरै देखिएको छ । बागमती नगरपालिकाको कृषि शाखाका प्रमुख एवं कृषि अधिकृत अवधेशकुमार झाले नगरभित्रका किसानले लगाएको सबैभन्दा बढी ८३५२ र केही मात्रामा ३३५५ जातको मकैमा दाना नलाग्ने समस्या देखिएको बताउनुभयो ।
कृषि अधिकृत झाले उपयुक्त तापक्रम मिलाएर रोप्न नजान्दा मकैमा दाना नलागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि यसबारेमा थप अनुसन्धान हुन बाँकी नै रहेको बताउनुभयो । वर्षेनि किसानले यस प्रकारको समस्या भोगिरहेकाले स्वदेशमै गुणस्तरीय बीउ उत्पादनका लागि तीनै तहका सरकार लागि पर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्