
काठमाडौं । काठमाडौंको यँगाल क्षेत्रमा सम्पदा क्षेत्रको पुनर्निर्माणका क्रममा पुरातात्विक पक्षको बेवास्ता गरी काम अघि बढाएको पाइएको छ । पुरातत्व विभागले समेत मौलिक पक्ष मास्न नपाइने भन्दा भन्दै प्रदेश सरकारको बजेट सक्ने नाममा पुरातात्विक सम्पदा क्षेत्रमा कंक्रिटको संरचना बनाउने दुस्प्रयास भईरहेको हो ।
अव्यवस्थित विकासका कारण सयौं वर्ष पुराना सम्पदाहरुको मौलिकता मासिने गरेको छ । काठमाडौंको यङ्गाललगायतका भित्री क्षेत्रमा दबिएर रहेका पुरातात्विक महत्वका ऐतिहासिक सम्पदाहरुको उत्खनन् र पुनर्निर्माणकाको नाममा सम्पदाहरुको मौलिकता नै नष्ट हुने खतरा देखिएको छ । यसै क्षेत्रका दुई स्थानमा अहिले दुई वटा पुरातात्विक महत्वका सम्पदाको पुन निमार्ण र जीर्णोद्धारको कार्य भइरहेको छ ।
तर विडम्वना, सौन्दर्यकरणको नाममा पुरातात्विक मापदण्ड विपरितका काम यहाँ भईरहेको पाइएको छ । भोटे बहाल र गणबहालको बीच चोकमा करिब १६ सय वर्ष पुरानो हितिको न्युनतम पुरातात्विक मापदण्ड पनि पालन नगरी पुनर्निर्माणको काम भइरहेको पुरातत्व विभागले समेत जनाएको छ । पुरातत्व विभागका अधिकृत मन्जरी प्रधान स्थानीय तहमा पुरातत्वको महत्वबारे जनचेतना आवश्यक रहेको बताउनुहुन्छ ।
सम्पदाहरुको संरक्षण गर्नु जरुरी छ तर संरक्षणको नाममा पुरातात्विक मापदण्ड पालन नगर्ने हो भने मौलिक इतिहास मेटिने खतरा हुन्छ भन्ने पनि बुझ्नु उत्तिकै जरुरी छ । पुरातात्विक महत्व थाहा नपाउँदा कतिपय ऐतिहासिक सम्पदाहरु कवाडीमा परिणत भईरहेको हुन्छ । १४ सय वर्ष पुरानो यंगा हिति संरक्षणमा पनि यस्तै देखिएको छ । पुरातत्वविद् उद्धव आचार्य सम्पदा संरक्षणमा सचेतता, दृढता र धैर्यता हुनपर्ने बताउनुहुन्छ ।
सम्पदा क्षेत्रमा पुनर्निर्माण गर्दा नयाँ पन दिने नाममा शताब्दीऔं पुराना सामाग्री हटाउने चलन पनि रहेको देखिएको छ । कसैले थाहै नपाउने गरी संरक्षणको नाममा पुरातात्विक महत्वका सामाग्री गायव पार्ने संगठित समूह नै त सकृय छैन् ? भन्ने आशंका पनि बढेको छ ।
प्रतिक्रिया दिनुहोस्