
काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकामा चालेको जनचेतना अभिवृद्धिका कार्यक्रमहरुले सडक दुर्घटनामा कमी आएको दाबी गरेको छ ।
ट्राफिक प्रहरीले सवारी तथा सडक अनुशासनमा कडाइ गरेका कारण गत वर्षको तुलनामा सडक दुर्घटनामा मृत्यु हुने तथा घाइते हुनेको संख्यामा कमी आएको दाबी उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको हो ।
आर्थिक वर्ष ०८९÷८० मा सडक दुर्घटनामा १० हजार ६ सय ७५ सडक दुर्घटना हुँदा १ सय ८७ जनाको मृत्यु भएको थियो भने गत आर्थिक वर्ष ०८०÷८१ मा ८ हजार ८ सय ८१ सवारी दुर्घटना भएको हो । जुन अघिल्लो वर्षको भन्दा १६ दशमलव ८ प्रतिशतले कम हो ।
यस्तै गत आर्थिक वर्षमा दुर्घटनामा परी १ सय ७७ जनाको मृत्यू भएको तथ्यांक छ । मृत्युदर अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले कम हो । मृत्यु हुनेहरुमा पुरुष १ सय ३२ र महिला ४६ जना रहेका छ्न । सडक दुर्घटनाबाट आर्थिक वर्ष २०७९÷८० मा २ सय ६१ गम्भीर घाइते ८ हजार ३ सय जना सामान्य घाइते भएकोमा गत वर्ष २०८०÷८१ मा २ सय ९० गम्भीर घाइते भएका थिए भने ८ हजार १४ जना सामान्य घाइते भएको तथ्यांकले देखाएको छ ।
काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रक्ता बिश्वराज खड्काले सुधारको यो गतिलाई अझ प्रभावकारी बनाउन योजनावद्ध तरिकाले लाग्ने तयारी भइरहेको बताउनुभयो । पछिल्लो समय ट्राफिक प्रहरीले चेतनामुलक कार्यक्रमलाई विशेष महत्व दिई सञ्चालन गर्दै आएको छ । विशेष गरी स्कूल कलेज केन्द्रित ट्राफिक नियम सम्बन्धी प्रशिक्षण, चालक, सह–चालक केन्द्रित ट्राफिक सचेतना कार्यक्रम र सडक प्रयोगकर्ताहरुलाई सडक सुरक्षा कार्यक्रमहरु गर्दै आएको प्रवक्ता खडकाको भनाइ छ ।
ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, ट्राफिक सचेतना विशेष अभियान जस्ता कार्यक्रमहरुमा समावेश भएका ट्राफिक गतिविधिहरु मार्फत ४ लाख ७७ हजार ३ सय ३ जना प्रत्यक्ष लाभान्वित भएको पनि ट्राफिक कार्यालयको दाबी छ ।
गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १० लाख बढीलाई कारवाही गरिएको र त्यस वापत ७२ करोड ६० लाख रुपैया संकलन भएको पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्