
काठमाडौं । सुईको माध्यमबाट सम्बन्धित रोगको मृत वा कमजोर व्याक्टेरिया मानिसको शरीरमा प्रवेश गराइने वीधी हो खोप । रोग प्रतिरोध गर्ने एन्टिबडी उत्पादन गर्ने स्वेत रक्तकोषलाई सक्रिय पार्ने खोप लिएकाहरुलाई रोग लागेको खण्डमा एन्टिबडीले रोगका कोषलाई प्रतिरोध गर्ने वीधी पनि हो खोप । यही अन्तर्गत सरकारले देशभरका लाखौं किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ‘एचपिभी खोप’ कार्यक्रम सञ्चालन गरिरहेको छ । माघ २२ देखि शुरु भएको यो अभियान फागुन ६ सम्म चल्ने छ भने देशभर १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।

कशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपिभी खोपको राष्ट्रिय अभियान माघ २२ गतेदेखि देशभर सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माले मंगलबार शुभारम्भ गर्नुभएको खोप अभियान देशभर एकसाथ सञ्चालनमा आएको छ । विभिन संघसंस्थाले कार्यक्रम गरी सञ्चालनमा ल्याएको यो अभियान अन्तर्गत वागमती प्रदेशका दुई लाख ९८ हजार ३०५ जना किशोरीलाई खोप लगाइँदैछ ।
१० देखि १४ वर्ष उमेर समूहका किशोरीहरू लक्षित यस अभियानमा देशभरका विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप दिइनेछ । राजधानीका विद्यालयहरुमा पनि तालिका अनुसार खोप अभियान चलिरहेको छ । जसका लागि ८ हजार बढी स्वयंसेवक र चार हजार बढी कर्मचारी खटाईएको छ । गत वर्षबाट नेपालमा नमुना कार्यक्रमको रुपमा आएको यो खोपले पाठेघरको मुखमा हुने क्यान्सर रोक्न सहयोग पुग्ने विश्वास स्वास्थ्य मन्त्रालयको रहेको छ ।
नेपालमा व्याप्त स्वास्थ्य समस्या मध्ये पाठेघरको मुखको क्यान्सर पनि एक प्रमुख समस्या रहँदै आएको छ । नेपालमा हरेक दिन ६ जना क्यान्सर पीडितको मृत्यु हुँदा ४ जनाको मृत्यु पाठेघरको मुखको क्यानसरबाट हुने गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.विकास देवकोटाले बताउनुभयो ।
उपत्यकाका विद्यालयहरुमा पुग्दा छात्राहरु यस खोप अभियानप्रति जानकार रहेको र खोप लगाउन पनि उत्साहित रहेको पाइयो ।
एचपिभी खोप ९० प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ । हाल नेपाल लगाएत विश्वका ६४ देशमा यो खोप अभियान सुरु गरिएको छ । यो खोप अघिल्लो वर्ष पहिलो डोज लगाएका छात्रालाई पनि यो पटक पुनः लगाइने छ । क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर एक किसिमको एचपिभी भन्ने भाइरसबाट सर्छ । एक तथ्यांक अनुसार विश्वमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट २ लाख ७० हजारको मृत्यु हुने गरेकोमा नेपालमा सन् २०२० मा मात्रै १६ हजार व्यक्तिको विभिन्न किसिमको क्यानसरका कारण मृत्यु भएको तथ्यांक छ ।
क्यान्सरबाट ज्यान गुमाउने मध्ये ८५ प्रतिशत विकासोन्मुख देशका हुने गरेका छन् । विश्वमा फोक्सोको क्यान्सर सबैभन्दा बढी रहेको छ भने त्यसपछि पाठेघरको मुखको क्यान्सर समस्याको रुपमा रहेको छ । नेपालमा वर्षको १० हजार महिला यो रोगबाट पीडित हुने गरेको तथ्यांक छ । सरकारले चालेको यो कदमले निकट भविष्यमा लाखौ किशोरीहरु पाठेघरको क्यान्सर मुक्त हुनेमा मद्दत पुग्ने विश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्