
काठमाडौं । आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी विश्वभरका हिन्दूहरुले आज शिवरात्री पर्व मनाएका छन् । शिवारत्रीको पावन अवसरमा पशुपतिनाथदेखि देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लाग्यो । देशविदेशबाट लाखौं दर्शनार्थीको भीड लागेको पशुपतिको माहौल निकै रमणीय थियो ।
कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्री मध्येको एक हो शिवरात्री । शिवरात्रीमा भगवान शिवको दर्शनका लागि के युवा के वृद्ध हरेक तह र तप्का र उमेर समूहका मानिसको घुइँचोे व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वयम्सेवकहरुलाई भ्याइ नभ्याई थियो । भक्तजनहरुको सहजताका लागि विभिन्न ठाउँबाट लाईनको व्यवस्था मिलाइको थियो । भक्तहरु ३ घण्टासम्म लाईन बसेर भएपनि पशुपतिनाथको दर्शन गर्न पाएकामा खुसी देखिन्थे । वृद्धवृद्धाका लागि लाइन बस्नु नपर्ने व्यवस्था मिलाइएका कारण यी वृद्धवृृद्धाहरु झनै दंग देखिए ।
शिवरात्रीकै अवसरपारि सपरिवार नेपाल घुम्न आएका भारतीय पर्यटकले पशुपतिनाथको दर्शन गर्न पाएकोमा गर्व महशुस मात्र गरेनन् यसरी नेपाल र नेपालीको खुलेर प्रशंसा समेत गरे । भगवान शिवको पुजा अर्चना गर्दा सुख सम्मृद्धी प्राप्त हुने विश्वासका साथ पशुपति पुगेकी यी युवतीको विचार भने यस्तो छ । हरेक शिवरात्रीमा पशुपति आउने गर्नुहुने दाङका ७६ वर्षिया घनालाई भने सहजै दर्शन गर्न पाएतापनि मन अलि खल्लो भएको छ ।
शान्ति सुरक्षाको जिम्मा लिएको ५ हजार प्रहरी र स्वयमसेवकहरुले दिएको सेवा प्रशंसनीय रहंदा भीडभाडकाबीच नाचगान गर्ने र फोटो खिच्नेको रौनक पनि उस्तै थियो । भक्तजनहरुको सुविधाका लागि निशुल्क स्वास्थ्य शिविर अनि ठाउँ ठाउँमा सेवा भावका हातहरु अघि बढ्दा भक्तजनहरुले केहीको पनि कमी महसुस गर्नुपरेन । शिवरात्रीकै लागि विभिन्न देशबाट आएका केही साधु सन्तहरु दक्षिणा जोहो गर्नमा व्यस्त रहँदा केही भने धुनी जगाएर बसेक थिए ।
कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रीको विशेष महत्व रहेको छ । शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने अनि रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्