
चितवन । चितवनको नारायणघाट, नारायणीको तीरमा विगत ६ वर्षदेखि पर्यटकलाई जलबिहार गराउन मोटरबोट सञ्चालनमा ल्याइएको छ । सञ्चालित मोटरबोट पनि दोहोरो कर तिर्नु पर्दा व्यवसायीहरु मर्कामा परेका छन् ।
ओली सरकारले जहाज कम्पनी खोलेर सयौं कर्मचारीलाई वर्षौदेखि तलब मात्र खुवाउने काम गरिरहेको छ ।
चितवन जिल्लाबासीले नारायणी नदीमा आफ्नै लगानीमा पानी जहाज त होइन मोटरबोटसम्म सञ्चालन गर्दै आइरहेका छन् ।
पहिला जलबिहारका लागि कुरिनटार, मुग्लिङ्गबाट मोटरबोट चढ्नेहरुलाई लिएर नारायणघाटसम्म लिएर आउने र पछिल्लो समय केही प्राविधिक कारणले गर्दा ६ किलोमिटरसम्म मात्र मोटरबोटबाट जलबिहार गराउन सकिने व्यवसायीको भनाइ छ र मोटरबोटबाट पूरा ६ किलोमिटर घुम्दा प्रति व्यक्ति ५ सय र ३ किलोमिटर को २ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको समितिले जनाएको छ ।
सरकारले आयकर त लिन्छ साथै स्थानीय सरकारले पनि १५ प्रतिशत कर लगाइदिँदा मारमा परेको व्यवसायीको दुखेसो छ । स्थानीय सरकारले मोटरबोट सञ्चालन गरेबापत १५ प्रतिशत कर लिँदै आएको छ । आन्तरिक पर्यटन विकासका लागि पर्यटन क्षेत्रमा लगाउँदै आएको करलाई न्यूनीकरण भए मात्र व्यवसायीहरु बाँच्न सकिने समितिका उपाध्यक्ष विजय चन्द्र अधिकारीले बताउनुभयो ।
अधिकांश जिल्ला बाहिरबाट घुम्न आउने आन्तरिक पर्यटक नै आफ्नो ग्राहक हुने व्यवसायीहरुको भनाइ छ । नारायणी नदी किनारमा पुगेर मोटरबोटबाट जलबिहार गर्न पाउँदा आन्तरिक पर्यटकहरु भने खुशी देखिन्छ्न् ।
सरकारले कर लिने काम मात्र नगरी पर्यटक आउने स्थानमा सर सफाइ, मर्मत सम्हार गरेर व्यवस्थित गर्न अतिआवश्यक भएको नारायणी मोटरबोट सञ्चालक समितिका उपाध्यक्ष विजय चन्द्र अधिकारीको भनाइ छ ।
एउटा नयाँ मोटरबोट किन्दा २५ लाख देखि ३५ लाख रुपैयाँ पर्ने ब्यवसायी बताउँछ्न । हाल नारायणी नदीमा १० वटा कम्पनीको ३० वटा मोटरबोटले सेवा दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्