२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पूर्व राजाको सक्रियता : दलहरुमा संशय र बेचैनी


481
Shares

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको भन्दै मूख्य राजनीतिक दलहरु सशंकित बन्न थालेका छन् । पूर्व राजा ज्ञानेन्द्रले यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा दिनुभएको वक्तव्यपछि मुलुकको राजनीति तरंगित भइरहेको छ भने पछिल्ला दिनमा राजसंस्थाप्रतिको जनआकर्षण पनि बढ्दो छ । यसले गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरुमा भने आशंका र बेचैनी बढाएको छ ।

गत पुसदेखि राजधानी बाहिर रहँदै आउनु भएका पूर्व राजा ज्ञानेन्द्रले गत फागुन ६ गते दिनुभएको वक्तव्य र त्यसपछि शुरु भएको राजसंस्था पक्षधरहरुको सक्रियता दिन प्रतिदिन बढ्दो छ । राजधानीदेखि देशका प्रमुख शहरहरुमा दिनदिनै भइरहेका प्रदर्शन र ती प्रदर्शनहरुमा राजसंस्थाप्रति बढ्दो आकर्षणले मूख्य दलहरुलाई सशंकित मात्रै बनाएको छैन, उनीहरुको बेचैनी पनि बढाएको देखिन्छ । मूख्य राजनीतिक दल र दलका नेताहरुप्रतिको वितृष्णाका बीच राजसंस्था पुनस्थापनाको अभियानले गति लिने त होइन ? भन्ने आशंका दलका नेताहरुमा छ । प्रमुख दलका शीर्ष नेताहरुका पछिल्ला अभिव्यक्तिले उनीहरुमा हतासा बढेको प्रष्टै देखाउँछ । गत शुक्रबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका विषयमा बोल्ने भन्दा पनि पूर्व राजा ज्ञानेन्द्रलाई गाली गर्नमै समय खर्चिनुभयो ।

प्रधानमन्त्री ओलीबाट आएको चेतावनीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिंङदेनले खुलेर सामना गर्ने उद्घोष गर्नुभयो ।

प्रधानमन्त्री ओली मात्रै कहाँ हो र ? सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि महोत्तरी पुगेर गणतन्त्रमा राजतन्त्रको स्थान नभएको भन्दै पूर्व राजा ज्ञानेन्द्रलाई शान्त रहन चेतावनी दिनुभयो । सोही दलका नेता शेखर कोइरालाले पनि राजसंस्था कुनै पनि हालतमा नफर्केने दाबी गर्दैै सरकार र दलहरुको कमी कमजोरी औंल्याउन सुझाव दिनुभयो ।

उता तराई-मधेश जागरण अभियानमा रहनु भएका प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले त राजसंस्था पक्षधरको गतिविधि बढेको भन्दै कार्यक्रम नै बिचमा छाडेर आउनुभयो । कार्यक्रम स्थगित गरेर काठमाडौंतिर लाग्नुअघि दाहालले पनि इतिहासको चक्का पछाडि फर्काउन सम्भव नभएको भन्दै पूर्व राजालाई तर्साउने कोशिस गर्नुभयो ।

त्यसो त सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले त पुर्व राजालाई जेल हाल्नेसम्मको अभिव्यक्ति दिन पनि पछि पर्नुभएन ।

२०६२/०६३ को परिवर्तनका मूख्य शक्तिहरुमा छटपटी बढिरहेका बेला राजसंस्था पक्षधरहरुमा भने उर्जा उत्पन्न भइरहेको पाइएको छ । केही वर्ष यता राष्ट्र, राष्ट्रियता तथा धर्म बचाउको अभियान चलाउँदै आउनु भएका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजा फर्काउने अभियान सफल नगराई विश्राम नलिने बताउनु भएको छ ।

२०६२/०६३ सालको परिवर्तनपछि देशमा शान्ति, अमनचयन कायम हुने र देश आर्थिक विकासको गतिमा अघि बढ्ने आशा लिएका सर्वसाधारणमा आक्रोश बढेको बुझेका राजनीतिक दलका नेताहरुले आफूलाई सुधार गर्नुको सट्टा पूर्व राजालाई निशाना बनाएर आफ्नो कमजोरी ढाक्न मात्रै खोज्ने हो भने जनता ढिलो चाँडो सडकमा उत्रिने भने पक्का छ ।