५० हजार रुपैयाँ लिने शर्तमा ६ किलो सुन केरुङबाट काठमाडौं ल्याइयो (भिडियो)

news

दीपक श्रेष्ठ/राममान डंगोल/लक्ष्मण डंगोल (इमेज)

काठमाडौं, असार १८ । साढे ३३ किलो सुन तस्करीको छानबिन टुंगोमा पुग्न नसकिरहेका बेला सुन तस्करहरुले भने बाटो परिवर्तन गरेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्लो दुई दिनमा नागढुंगाबाट ९ किलो सुनसहित ६ जनालाई नियन्त्रणमा लिएपछि तस्करहरुले बाटो परिवर्तन गरेको विश्लेषण गरिएको हो ।

गत असार १६ गते नागढुंगामा चेकजाँच गर्नेक्रममा गाडीको एअरफिल्टर मा लुकाइ भारततिर निकासी गर्ने उद्देश्यले लैजाँदै गरेको तीन किलो सुनसहित प्रहरीले चारजना भारतीय र एकजना नेपालीलाई पक्राउ गर्‍यो ।

त्यसको भोलिपल्टै १७ गते नागढुंगाबाटै चीनको सीमावर्ती क्षेत्र केरुङबाट काठमाडौं ल्याउँदै गरेको ६ किलो सुनसहित एकजना पक्राउ परे ।

सुन ‘तस्कर’ सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५, पोखडीका २३ वर्षीय तेन्जिङ तामाङले एकपटकमा ५० हजार रुपैयाँ लिने शर्तमा ६ किलो सुन ल्याएको बयान दिएको महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले बताए ।

केरुङबाट सुन तस्करी भएर भित्रिँदैछ भन्ने सूचनाका आधारमा नागढुंगा नाकामा चेकजाँचमा कडाइ गरेको प्रहरीको भनाइ छ ।

साढे ३३ किलो सुन तस्करीको छानबिन गर्न गठित विशेष समितिले ठूला तस्करहरुलाई समात्न नसकिरहेको र हराएको सुनसमेत फेलापार्न नसकिरहेको अवस्थामा उक्त सुनको खोजी गर्ने जिम्मेवारी कसको हो ? भन्ने प्रश्न पनि उठिरहेको छ ।

साढे ३३ किलो सुन तस्करीपछि विमानस्थलमा कडाइ हुन थालेकाले तस्करहरुले स्थलमार्गबाट सुन तस्करी गर्न थालेको अनुमान गरिएको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...