२२ चैत्र २०८१, शुक्रबार | Fri Apr 4 2025


रातो मच्छिन्द्रनाथको रथारोहण आइतबार गरिने


0
Shares

ललितपुर, २० वैशाख । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आइतबार पुल्चोकमा गरिने भएको छ ।

हरेक वर्ष वैैशाख शुक्लपक्ष प्रतिपदाको दिन रातो मच्छिन्द्रनाथलाई तःबहालस्थित मन्दिरबाट बाजागाजा र पूजाआजासहित खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा लगेर विराजमान गराइन्छ ।

यही वैशाख ७ गते कृष्ण प्रतिपदाको दिन लगनखेलको डबलीमा राखेर मच्छिन्द्रनाथलाई महास्नान गराइयो ।

आज रातिदेखि विविध विधिअनुसार भगवान्को दशकर्म जस्तै न्वारान, पास्नी, व्रतबन्ध, विवाह, गुफा राख्ने काम आदि अघि बढाइने गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए ।

 “रातो मच्छिन्द्रनाथलाई महिला र पुरुष दुवैको प्रतीकका रुपमा पुजिन्छ”, पौडेलले भने, “भगवानको अनुहारमा विशेष किसिमको माटो लगाउने नेकुलहरुले मच्छिन्द्रनाथको रङरोगन र श्रृंगारको काम गरिसकेका छन् ।”

 रथ बुधबार तानिने

यही २५ गते बुधबार मच्छिन्द्रनाथको रथ पुल्चोकबाट गाबहालतर्फ तानिने भएको छ । पहिलो दिन गाबहाल हुँदै मङ्गलबजार, सुन्धारा, थापाहिटी, लगनखेल अनि जावलाखेल पु¥याइने चलन छ ।

करीब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्रा हो । यो जात्रा दुई महीनासम्म मनाउने चलन छ ।

प्राचीनकालमा नेपालमा पानीको हाहाकार भएपछि लिच्छविकालीन राजा नरेन्द्र देव, ललितपुरका ज्यापू र प्रसिद्ध तान्त्रिक बन्धुदत्त बज्राचार्यले भारतको कामारुपकामाक्षबाट मच्छिन्द्रनाथलाई नेपाल ल्याई वर्षा गराएको किंवदन्तीमा उल्लेख छ ।

मच्छिन्द्रनाथको रथ सिङ्गारपटार गर्ने र बलियो बनाउने बाह्र ञ्वालको टोलीले मच्छिन्द्रनाथको रथ बनाउने सम्पूर्ण काम गर्ने गरेको गुठी संस्थान ललितपुरले जनाएको छ । 

संस्थानले ञ्वाललाई रथ निर्माणको काम गरेवापत यस वर्ष दैनिक ज्याला रु एक हजार ३२० दिएको छ । त्यसमा प्रत्येक व्यक्तिलाई जात्रा अवधिभर दुई मुरी धान दिने चलन पनि रहेको बताइन्छ ।

संस्थानले पूजा खर्चका लागि रु ३० हजार, ञवाललाई तीन पटकको खाना तथा खाजाको व्यवस्था, रथ निर्माण गर्दा पर्न जाने जोखिमको विचार गरी उनीहरुले करीब ५० जनालाई बीमाको सुविधा गरिदिएर काममा उत्साह थपिदिएको पौडेलले जानकारी दिए ।

ञ्वालहरुको १२ किसिमको पद हुन्छ । यिनीहरु डङ्गोल सम्प्रदायबाट सिफारिश भएर आउँछन् । एक पटक ञ्वालमा चुनिएको व्यक्ति मृत्यु नहुञ्जेल त्यस काममा रहन पाउने नियम छ । ञ्वाल बाबुको मुत्युपछि छोरा, नातिले ञ्वाल पेशा अपनाउन चाहेमा स्वतः अपनाउन पाउने बताइएको छ ।

 “ञ्वालहरु ६० वर्षमाथि ८० वर्ष उमेर समूहका छन्”, पौडेलले थपे, “८२ वर्षीय चाकला डङ्गोल (आजु) मूल थकालीले हरेक वर्ष जात्रामा नरिवल खसाल्ने काम गर्दै आउका छन् ।”

पानेजुबाट वर्ष दिन पूजा

मच्छिन्द्रनाथको रेखदेख र पूजा गर्ने पुजारीलाई ‘पानेजु’ भनिन्छ । वर्ष दिनभरि मच्छिन्द्रनाथको पूजा गर्न ३२ जना पानेजु संघ गठन गरिएको गुठी संस्थानले जनाएको छ । “तिथिअनुसार हरेक १५ दिनको हाराहारीमा पानेजु परिवर्तन हुने नियम बनेको छ”, पौडेलले भने, “जात्रा अवधिभर दैनिक दुई जना पुजारी पूजाका लागि तोकिएको हुन्छ ।”

ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मतीमा रहेको हजारौँ रोपनी गुठीको जग्गाबाट आएको आयस्ताबाट पानेजुले जीवन निर्वाह गर्ने नियम बनेको बताइन्छ ।
 
पैताला देखाएर शयन

नेवारी परम्परानुसार मच्छिन्द्रनाथलाई पुजारीको पैताला देखाएर सुत्ने चलन छ । भगवानसँग राक्षस खाना माग्न आउँछन् भन्ने विश्वासले गोडा फर्काएर सुत्ने चलन रहेको मन्दिरका ५८ वर्षीय पुजारी भुवनराज शाक्यले बताउनुभयो ।

मच्छिन्द्रनाथ पूजा गर्ने पालो परेको अवधिभर त्यहाँ रहने पुजारीले २४ घण्टामा एक छाक खाने चलन छ । खाना खाँदा खाएको लुगाले मन्दिर प्रवेश गर्नु नहुने शाक्य बताउनुहुन्छ । “पुजारीले एक छाक खाना खाँदा चाकु, घ्यू, सानो केराउको दाल, भात र दूध खाने चलन छ”, शाक्यले बताए । (रासस)