२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकृत, बन्यो समाजवादी पार्टी नेपाल(यस्ता छन् पदाधिकारी)


0
Shares

काठमाडौं, २३ बैशाख । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीले एकताको घोषणा गरेका छन् । उनीहरुले नयाँ दलको नाम समाजवादी पार्टी नेपाल घोषणा गरेका छन् ।

काठमाडौंमा भएको एकता घोषणा सभामा नेताहरुले एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी पनि गरेका छन् ।

कार्यक्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बुँदे सहमतिमा हस्ताक्षर पनि गरेका छन् ।

एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको भन्दै उनीहरुले संघीयता, सुशासन, समृद्धि र समाजवादलाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुवीकरणको आवश्यकता पनि औल्याएका छन् ।

कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाललाई एकतामा आउन आग्रह गरेका छन् ।

समाजवादी पार्टीको घोषणा कार्यक्रममा उनले अब सानो सानो पसल थाप्ने समय नभएको भन्दै एकतावद्ध हुन आग्रह गरेका हुन् ।

यस्ता छन् पदाधिकारी

यसअघि कार्यक्रममा समाजवादी पार्टीमा २५ जना पदाधिकारी घोषणा गरिएको थियो ।

एकता कार्यक्रममा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादवको घोषणा गरिएको छ ।

पार्टीको वरिष्ठ नेता अशोककुमार राई रहने छन् भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।

यस्तै उपाध्यक्षहरूमा  नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् ।

महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् ।

उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोव, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवले पाएका छन् ।