३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


‘मेरो होइन जनताका बच्चाको तस्वीर झुड्याउ’: युक्रेनी राष्ट्रपति


0
Shares

एजेन्सी । युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले देशका कुनैपनि कार्यालयमा आफ्नो तस्वीर नझुण्ड्याउन निर्देशन दिएका छन् ।

निर्वाचित भएको एक महिनापछि पद तथा गोपनियताको सपथ लिएका जेलेन्स्कीले राष्ट्रपतिको कार्यभार सम्हाल्दै आफ्नो तस्वीर नझुण्ड्याई त्यहाँका जनताका बच्चाको तस्वीर राख्न निर्देशन दिएका हुन् ।

‘त्यहाँ मेरो होइन तपाईंहरूको तस्वीर हेर्न चाहन्छु । राष्ट्रपति कुनै आइकन होइन, न मूर्ति हो, राष्ट्रपति न त पोट्रेट नै हो । त्यो ठाउँमा तपाईंका बच्चाहरूका तस्वीर राख्नुस् अनि हरेक निर्णय गर्नुभन्दा पहिला उनीहरूका आँखामा हेर्नुस्,’ राष्ट्रपति जेलेन्स्कीले भने ।

हाँस्यकलाकारबाट राष्ट्रपति पदमा निर्वाचित जेलेन्स्कीले पदभार सम्हाल्दै आफु सबै युक्रेनीको राष्ट्रपति भएको पनि प्रष्ट्याए ।

पूर्वी युरोपियन मुलुक युक्रेनका हाँस्यकलाकार ४९ वर्षिय भोलोदमिर जेलेन्स्कीले एक महिनाअघि भएको राष्ट्रपतिको निर्वाचितमा आफ्ना प्रतिष्पर्धी सबैलाई पछि पार्दै चुनाव जित्दा सबैतिर आश्चर्य छाएको थियो ।

राष्ट्रपतिको दोस्रो चरणको मतदानमा जेलेन्स्कीले ७३ प्रतिशत मत पाउँदा उनका प्रतिष्पर्धी राष्ट्रपति पेट्रो पोरोसेन्कोले जम्मा २५ प्रतिशत मत ल्याउन सकेका थिए ।

तत्कालीन राष्ट्रपति पोरोसेन्को सन् २०१४ मा रूसले युक्रेनको क्रिमियालाई गाभेपछि रूसविरोधी नारा दिएर सत्तामा आएका थिए ।

कुनै राजनीतिक जिम्मेवारी नसम्हालेको र संगठनभन्दा कलाकारिताको प्रयोग गरी नागरिकलाई हँसाएकै भरमा चुनाव जितेका जेलेन्स्कीलाई आफ्नो कार्यकाल त्यति सहज हुन नसक्ने विश्लेषण गरिएको छ ।

रूसविरोधी नाराबाटै राष्ट्रपति बनेका तर हाल जेलेन्स्कीसँग पराजित पूर्व राष्ट्रपति पोरोसेन्कोले त, अनुभवविहीन युक्रेनको एउटा नयाँ राष्ट्रपति छिट्टै रूसी प्रभावको कक्षभित्र पर्ने भन्दै प्रतिक्रिया दिइसकेका छन् ।