४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

सरकारले बनायो नेपाल रेडक्रसमा तदर्थ समितिः डा. मास्केलाई जिम्मेवारी, सञ्जिव थापा बर्खास्त


0
Shares

काठमाडौं, जेठ ८ । सरकारले नेपाल रेडक्रस सोसाइटीमा तदर्थ समिति बनाएको छ । अध्यक्षको जिम्मेवारी डा. विश्वकेशर मास्केलाई दिइएको छ । समितिमा १७ सदस्यीय छन् ।

रेडक्रसमा अनियमितता रहेको भन्ने उजुरीलाई आधार मान्दै हस्तक्षेप गरी सरकारले रेडक्रसको महाधिवेशन नै हुन दिएको थिएन ।

सुनसरीको धरानमा महाधिवेशन गर्न सम्पूर्ण तयारी भैसकेका समयमा हस्तक्षेप गरी महाधिवेशन रोक्दै सरकारले आफैले तदर्थ समिति बनाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सञ्जीव थापाको नेतृत्वमा रहेको कार्यसमितिलाई भंग गरी डा. मास्केको नेतृत्वमा नयाँ तदर्थ समिति बनाएको हो ।

नयाँ तदर्थ समिति गठन गरेकोबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यन्त गोप्य भन्दै रेडक्रस केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा सोमबारको मिति उल्लेख छ । थापा नेतृत्वको कार्यसमितिलाई बर्खास्त गर्दै सरकारले १७ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको हो ।

डा. विश्वकेशर मास्केलाई अध्यक्ष बनाइएको समितिको उपाध्यक्षमा कृष्ण गौतम, महामन्त्री कमलप्रसाद निरौला, कोषाध्यक्ष सीताराम कोइराला नियुक्त गरिएको छ ।

सदस्यहरुमा दीपेन्द्र ढकाल, वीरबहादुर बस्नेत, लोकराज ढकाल, अशोक श्रेष्ठ, श्याम पोखरेल, दीपक मिश्र, गोवर्धन सम्झना, महेश्वरी राई, खेमराज केसी, श्रीकृष्ण दाहाल, अरुण खनाल, तिर्थराज घिमिरे, जीवन राना छन् ।

नयाँ कार्यसमितिलाई आठ बुँदे कार्यादेश दिँदै एक वर्षभित्र महाधिवेशन गरिसक्न आदेश दिइएको छ ।

अख्तियार, गृह, परराष्ट्र तथा जिल्ला प्रशासन कार्यालयमा थापा नेतृत्वको कार्यसमितिले अनियमितता गरेको भन्दै उजुरी हालेपछि बैखाख २३ देखि २५ सम्म धरानमा गर्न लागेको महाधिवेशन प्रशासनको हस्तक्षेपले रोकिएको थियो ।