
भारतमा भएको संसदीय निर्वाचनमा भारतीय जनता पार्टीले भारी बहुमत ल्याएसँगै मुख्य प्रतिष्पर्धी भारतीय कांग्रेसले हार स्वीकारेको छ ।
कांग्रेस अध्यक्ष राहुल गान्धीले हार स्वीकार्दै निर्वाचनमा विजयी भएकामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।
मतगणनाको परिणाममा आफ्नो पार्टी नराम्ररी पछारिएलगत्तै संक्षिप्त पत्रकार सम्मेलनमा उपस्थित कांग्रेस अध्यक्ष गान्धीले अहिले कसैप्रति टिप्पणी नगर्ने भन्दै नेता कार्यकर्तालाई नआत्तिन आग्रह गरे ।
उनले समग्र परिणामको जिम्मेवारी आफ्नो रहेको भन्दै थप विषय आगामी केन्द्रीय समितिको बैठकले तय गर्ने पनि बताए ।
अमेठी निर्वाचन क्षेत्रमा हार स्वीकार
पत्रकार सम्मेलनमा राहुलले आफ्नो परम्परागत निर्वाचिन क्षेत्र अमेठीमा पराजीत भएको स्वीकारे । उनले भाजपा उम्मेदवार स्मृति ईरानीलाई जीतका लागि बधाई पनि दिए ।अमेठीलाई कांग्रेसको गढ नै मानिन्थ्यो ।
विपक्ष हैसियत पनि गुम्ने
अहिलेसम्मको अवस्थामा कांग्रेसले विपक्षको हैसियत पनि गुमाउने देखिएको छ । भारतमा विपक्षी दलको मान्यता पाउन ५५ सिट चाहिन्छ । तर उसको अहिलेसम्मको अवस्थामा ५१ सिट मात्र देखिएको छ ।
जबकी भाजपा एक्लैले तीन सय सिट ल्याउने देखिएको छ । मोदी नेतृत्वको यो ठूलो विजय हो ।
प्रतिक्रिया दिनुहोस्