२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


रुकुममा मारिएका नवराज विकलाई मरणोपरान्त पुरस्कार दिने सरकारको निर्णय


13
Shares

nabaraj bk murder parliament

काठमाडौं, असार १५ । रुकुम पश्चिममा मारिएका जाजरकोटका नवराज विकलाई सरकारले मरणेपरान्त पुरस्कृत गर्ने भएको छ ।

उनलाई २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो ।

एक लाख रुपैयाँ राशीको यो पुरस्कार विकलाई दिने निर्णय गरिएको मन्त्रालयले विज्ञप्ति निकाली जनाएको छ ।

सरकारले २०७३ सालबाट समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप यो पुरस्कार प्रदान गर्न थालेको हो ।

समाज सुधारतर्फ नवराजलाई यो पुरस्कार घोषणा गर्दै मन्त्रालयले मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यसैगरी मन्त्रालयले प्रदान गर्ने यस वर्षका अरु विधाका पुरस्कृत हुनेको नाम पनि टुंगो लगाएको जनाएको छ ।

एक लाख रुपैयाँ राशीको भाषा साहित्य विधातर्फको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ काठमाडौंका प्रा.डा. दयाराम श्रेष्ठले पाउँदा संगीत तथा नाट्य विधातर्फ सिराहाका सत्यनारायण चौधरीले पाउने र ललितकलातर्फ काठमाडौंका श्यामलाल श्रेष्ठलाई पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ ।

यस विधामा हरेक विधातर्फ ५० हजार पुरस्कार राशीको प्रादेशिक प्रतिभा पुरस्कारसमेत प्रदान गरिन्छ । जसमा सात सात जनालाई मनोनयन गरिएको छ ।

संस्कृति विधातर्फ काठमााडौंका बुद्धिनारायण श्रेष्ठलाई मनोनयन गरिएको छ भने यस विधामा सातै प्रदेशबाट पनि पुरस्कृत हुनेछन् । यसैगरी महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार र पुष्पलाल राष्ट्रिय पुरस्कार पाउने व्यक्तिको नाम पनि छनोट गरिएको छ ।