
काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी ओलीले पार्टी बैठकमा भएका विषय बाहिरी मिडियामा कसरी हुबहु आए भन्दै पार्टी नेताहरुप्रति औला ठड्याउनु भएको छ ।
आफ्नो सरकारी निकास बालुवाटारमा भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीले बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुराहरु कसरी हुबहु मिले ? भन्ने प्रश्न गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएकामा पार्टी नेताहरुले जवाफ मागेपछि प्रत्युत्तरमा उहाँले पार्टीका नेताहरुबाटै सूचना लीक भएको आशय व्यक्त गर्नुभएको हो ।
बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले भारतले सरकार ढलाउन लागेको भनि दिएको अभिव्यक्ति पुष्टि गर्न चुनौती दिनुभएको थियो ।
चारै जना नेताले दूतावासले सरकार ढलाउन लागेको भए के के भएको थियो ? जवाफ दिन भन्नुभएको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।
नेताहरुबाट ह्वारह्वार्ती प्रश्नको वर्षा भएपछि प्रधानमन्त्री ओली भने छोटो जवाफ दिएर बाहिरिनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्